घुससहित रंगेहात समातिए काठमाडौं महानगरका लेखा अधिकृत



काठमाडौं । सेवाग्राहीसँग २१ हजार रुपैयाँ घुस लिएको आरोपमा काठमाडौं महानगरपालिका वडा नं। ३० का लेखा अधिकृत उद्धव भट्टराई पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो।

अख्तियारका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न आवश्यक वडा सिफारिस उपलब्ध गराइदिने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीपछि अनुसन्धान गरिएको थियो।

सेवाग्राहीलाई कामका लागि अनावश्यक झन्झट दिई रकम माग गरेको भन्ने सूचनापछि आयोगले निगरानी बढाइएको थियो ।

सोही क्रममा टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले भट्टराईलाई सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वडा कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका लेखा अधिकृत भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार