कोरोना उपचार गर्न काठमाडौंमा पाँच अस्पताल


 



काठमाडौं, माघ १२
चीनको वुहानमा अध्ययन गरेर फर्किएका जनकपुरका ३२ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएपछि नेपालले सतर्कता अपनाएको छ । कोरोनाबाट संक्रमित बिरामीको उपचार गर्न पाँच अस्पताल तोकेको छ ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पताल तोकिएका हुन् । शनिबार सबै अस्पताल प्रमुखहरूलाई बोलाएर तयारी अवस्थामा रहन दिर्नेशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । प्रारम्भिक चरणमा बिरामी हेर्न शुक्रराज तथा सरुवा रोग अस्पताललाई जिम्मा दिएको छ ।

दुई हप्ताअघि वुहानबाट नेपाल आएका युवालाई पनि ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि सुरुमा टेकु अस्पतालमै भर्ना गरिएको थियो । कोरोना भाइरसको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गरिएको थियो । तर, परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)को अग्रसरतामा उनको रगत र र्‍यालको नमूना हङकङ पठाइएको थियो ।

बिहीवार राति आएको उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । तर, रिपोर्ट आउँदासम्म बिरामी भने डिस्चार्ज भइसकेका छन् । बिरामी नै अस्पताल बस्न नमानेपछि विशेष निगरानीमा घर पठाइएको चिकित्सकहरूले बताएका छन् ।

टेकु अस्पताल र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कर्मचारीले ती व्यक्तिसँग दिनहुँ सम्पर्कमै रहेको बताए। चिकित्सकका अनुसार अहिले उनलाई कुनै समस्या देखिएको छैन । तर, दुई देखि १४ दिनसम्म लक्षण देखिन समय लाग्ने भएकाले पनि जोखिम भने हुनसक्ने चिकित्सकले बताएका छन् ।

चिकित्सकले ती युवकका आफन्त, साथिभाई र परिवारका सबै सदस्यहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाएका छन् । उनको उपचारमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीको पनि स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए ।

सरकारले चीनबाट आउने जोकसैको पनि स्वास्थ्य परीक्षण गरेर निगरानीमा राख्नसमेत थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कलाई सक्रिय बनाएको छ । अफ्रिकी मूलुकमा इबोला फैलिएपछि सरकारले त्यहाँबाट आउने व्यक्तिको स्वास्थ्य परीक्षण गर्न विमानस्थलमा ०७० मा हेल्थ डेस्क स्थापना गरेको थियो ।

तर, त्यसपछि प्रभावकारी नभएको हेल्थ डेस्कलाई अहिले सक्रिय बनाइएको छ । शनिबारबाट आठ स्वास्थ्यकर्मी परिचालन गरिएको छ । हेल्थ डेस्क इन्चार्ज गोपाल पाण्डेका अनुसार छात्रावृत्तिमा एमडी गरेर आएका डा।निसान्त ठाकुर र टेकु अस्पतालका तीन मेडिकल अफिसर तथा तीन नर्स खटाइएको छ ।

विमानस्थलको हेल्थ डेस्कमा ‘थर्मल स्क्यानर’ प्रयोग गरिएको छ । यसले एकैपटक एउटै बाटो भएर आउने तीन सय जनासम्मको ज्वरो जाँच गर्ने क्षमता राख्छ । ‘थर्मल स्क्यानर संचालन गरेर हामीलाई ठुलो राहत भएको छ । हामी अब समूहमा बिरामीको स्वास्थ्य जाँच गर्न सक्छौं,’संयोजक पाण्डेले भने, ‘कुनै पनि भाइरसको सुरुवाती लक्षण ज्वरो आउनु हो ।

त्यसैले पहिला हामी नेपाल आउने पर्यटकलाई सामुहिक रुपमा थर्मल स्क्यानरबाट ज्वरो हेर्छौँ ।’ कुनै व्यक्तिलाई ज्वरो आएको छ भने ‘थर्मल स्क्यानर’ले रातो देखाउँछ ।पाण्डेका अनुसार स्क्यानरले हरियो, पहेँलो, हल्का रातो र गाढा रातो देखाउँछ । सबैभन्दा बढी ज्वरो आएको व्यक्तिलाई गाढा रातो घेरा लगाउँछ । त्यस्तो व्यक्तिको सबै विवरण लिएर सिधै आइसोलेसन वार्डमा भर्ना गरिने उनले बताए ।

सरकारले चीनबाट नेपाल आउने सबै यात्रुलाई हेल्थ डेस्कको बाटोभएर आउन सुचना जारी गरेको छ  । त्यस्तै, चीनबाट नेपाल आउने सबै जहाजभित्रै फर्म वितरण गरिएको छ । सो फर्ममा यात्रुले आफ्नो सबै विवरण उल्लेख गर्नुपर्ने हुन्छ । भाषामा समस्या हुने भएकाले सरकारले चिनियाँ दूतावासबाट दोभाषेको व्यवस्था समेत गरेको छ ।

विमास्थलको अध्यागमन कार्यालयमा पनि कोरला भाइरसविरुद्ध बिशेष सतर्कता अपनाइएको छ । पर्यटकहरूबाट रोग सर्न सक्ने भएकाले कर्मचारीहरू मास्क र पञ्जा लगाएर डिउटीमा बस्न थालेका छन् ।

विमानस्थलमा पर्यटक सोधपुछ गर्नुपर्ने भएकाले कोरना भाइरसको जोखिम कर्मचारीलाई भएको र त्यसबारे सतर्कता अपनाउन शनिबार छलफल भएको अध्यागन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । ‘धेरै जसो कर्मचारीहरू मास्क र पञ्जा लगाएर डिउटीमा बस्न थाल्नुभएको छ,’ उनले भने, ‘हुन त चीनबाट आउने पर्यटकलाई पहिला चिकित्सकको टोलीले स्क्रिनिङ गर्छ, हामीले पनि सावधानी बढाएका छौं ।’

नेपालमा आउने पर्यटकमध्ये भारतीयपछि पहिलो स्थानमा चिनियाँ पर्यटक पर्छन् । तर, अहिलेसम्म कोरना संक्रमणकोको असर पर्यटक आगमन देखिएको छैन । ‘आजसम्म चिनियाँ पर्यटकको संख्या घटेको छैन, तर घट्ने सम्भावना छ,’ महानिर्देशक पौडेलले भने ।

त्यस्तै, चीनबाट बढी आवतजावत हुने रसुवागढी नाकामा पनि शनिबारबाटै हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । जिल्लाकै अग्रसरतामा जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय रसुवाको टोलीले एकजना स्वास्थ्यकर्मी खटाएर हेल्थ डेस्क सञ्चालनमा ल्याएको स्वास्थ्य कार्यालय प्रमुख किरण श्रेष्ठले बताए ।

चीनबाट नेपाल भित्रिने र नेपालबाट चीन जाने स्वदेशी तथा विदेशीको स्वास्थ्य परीक्षण सुरु भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिलकुमार खरेलले बताए । शंका लागेका व्यक्तिलाई जिल्ला अस्पताल रेफर गरिनेछ । चीन तर्फ पनि परीक्षण भइरहेको छ । चिनियाँ पक्षले कोरोना संक्रमण दखिएको व्यक्तिलाई नेपाल नपठाउने श्रेष्ठले बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा। बासुदेव पाण्डेलले पनि कोरोना मौसमी रुघाखोकी ९इन्फ्लुएन्जा० जस्तो रुप लिएर आउन सक्ने भएकाले सबै सचेत हुनुपर्ने बताए । रुघाखोकी लाग्दैमा भने कोरोना भनेर नआत्तिन पनि सुझाव दिएका छन् । तर, प्राणघातक कोरोना संक्रमितको उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीलाई नै नेपालमा सुरक्षा कवजको व्यवस्था गरिएको छैन । सुरक्षा कवजबिना नै विमानस्थल र अस्पतालमा स्वास्थ्यकर्मीले बिरामी हेरिरहेका छन् ।

‘बिरामीको उपचार गर्न सक्षम रहेको हामीले सार्वजनिक रुपमै भन्दै आएका छौँ । तर, हाम्रो त्यस्तो क्षमता छैन,’ नाम उल्लेख नगर्ने सर्तमा एक चिकित्सकले भने । यसअघि इबोला संक्रमणका बेला सरकारले चिकित्सकलाई सुरक्षा कबज व्यवस्था गरी प्रयोग गर्नसमेत सिकाएको थियो । सुरक्षा कवजका लागि पुरा शरीर ढाक्ने सुरक्षित लुगा, आखाँ सुरक्षित गर्न चश्मा, भाइरस फिल्टर गर्ने मास्क, पन्जा आवश्यक पर्छ । नयाँ पत्रिका

प्रकाशित मिति: १२ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्