कोरियाली पासपोर्ट बोकेर ६ भियतनामी नेपालमा !


 


काठमाडाैं, माघ १२
दक्षिण कोरियाली बन्न खोज्दा ६ जना भियतनामी अध्यागमनको फन्दामा परेका छन् । कारण थियो– उनीहरूसँग दक्षिण कोरियाको नक्कली पासपोर्ट हुनु ।

भियतनामबाट मलेसियाको क्वालालम्पुर हुँदै मालिन्डो एयरबाट उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए । उनीहरू कोरियाको नक्कली पासपोर्टमा माघ १ गते नेपाल प्रवेश गर्न खोजेका थिए ।

कोरियाली बनेर नेपाल प्रवेश गर्न खोज्ने शंकास्पद भियतनामका नागरिकलाई त्यही बेला अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएका थिए । जति बेला उनीहरू अध्यागमन डेस्कमा नेपाल प्रवेश गर्ने अनुमति पर्खिंदै थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले सी ७८७९९३३, सी ६१०५३४७, सी ८२७२२१८, सी ६१२९५२३, सी ६७६१५०४ र सी ६१८४९३० नम्बरका राहदानीवाहक भियतनामीलाई पक्राउ गरेको थियो । अध्यागमन विभागका अनुसन्धान अधिकृत वैकुण्ठराज रेग्मीले नक्कली राहदानीवाहक भियतनामीलाई निष्काशन गरिएको बताए । ‘जनही ५० हजार जरिवाना गराएर निष्काशन गरेका हौं’, रेग्मीले भने ।

भियतनामीले प्रयोग गरेको दक्षिण कोरियाको नक्कली पासपोर्ट विभागले जफत गरेको छ । जुनसुकै मुलुकको भिसा सजिलै पाउने भएकाले भियतनामीले दक्षिण कोरियाको पासपोर्ट प्रयोग गरेको हुन सक्ने अध्यागमन अधिकारीले बताएका छन् ।

उनीहरूले भियतनाममा मानव तस्करमार्फत प्रतिपासपोर्ट २ सय डलरमा खरिद गरेको खुलेको छ । दलालले भियतनामको पासपोर्ट प्रयोग गर्दा कतिपय मुलुकले भिसा नदिने भएकाले दक्षिण कोरियाको प्रयोग गर्न सुझाव दिएको बयान उनीहरूले दिएका थिए ।

तस्करको सेटिङमा परेका उनीहरूले नेपाल प्रवेशका लागि पनि दक्षिण कोरियाकै पासपोर्ट प्रयोग गरे । भियतनामीलाई नेपालले सहजै आगमन भिसा दिँदै आएको छ । दक्षिण कोरियाको नक्कली पासपोर्ट लिएर उनीहरू घुम्नका लागि मात्र नेपाल आएका थिएनन् ।

नेपाललाई ‘ट्रान्जिट’ बनाई युरोप, अमेरिका, क्यानडालगायत विकिसित मुलुक प्रवेश गर्ने उद्देश्यले ती भियतनामीले नक्कली पासपोर्टमार्फत दक्षिण कोरियाली नागरिक बन्न कोसिस गरेका थिए । कोरियाली पासपोर्टमा काठमाडौं ओर्लिएका भियतनामीले अध्यागमन डेस्कमा केही अस्वाभाविक व्यवहार देखाएका थिए ।

त्यसपछि अध्यागमन डेस्क अधिकारीले उनीहरूप्रति आशंका गरेका थिए । विमानस्थलस्थित अध्यागमनका अधिकारीले उनीहरूको पासपोर्ट परीक्षण गरेका थिए । भियतनामीले प्रयोग गरेको कोरियाको पासपोर्ट नक्कली भएको अध्यागमन अधिकारीले थाहा पाए । अनुसन्धानका क्रममा उनीहरूको मोजामा लुकाएर राखेको भियतनामको पासपोर्ट भेटिएको थियो । दुवै मुलुकको पासपोर्टसहित थप अनुसन्धानका लागि उनीहरूलाई एक रात विभागको हिरासतमा राखिएको थियो ।

कोरियाको पासपोर्ट नक्कली पुष्टि भएपछि विभागले उनीहरूलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन गरेको छ । उनीहरूले अब सन २०२० भित्र नेपाल प्रवेश गर्न पाउनेछैनन् । सुरुमा उनीहरूले आफूहरू कोरियाली भएको दाबी गरे पनि अध्यागमन अधिकारीले अनुसन्धानका क्रममा उनीहरूको साथबाट भियतनामको पासपोर्टसमेत बरामद गरेका थिए ।आजको अन्नपूर्ण पोष्टबाट

प्रकाशित मिति: १२ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्