हेल्थ डेक्समा कोरना भइरस चेक जाँचका लागि थर्मोमिटर र बिपी सेट मात्र


 


रसुवा, माघ १६
रसुवागढी नाकामा रहेको हेल्थ डेक्समा आवश्यक न्यूनतम सामग्री तथा जनशक्तिको अभाव देखिएको छ। त्यहाँ आइतबारदेखि परीक्षण थालिएको हो। डेस्कमा दुईवटा थर्माेमिटर र दुईवटा बिपी सेट मात्रै भएको स्वास्थ्यकर्मीले बताए। भएका सामग्रीबाट २३ जनाको स्वास्थ्य परीक्षण गरिएको हेल्थ असिस्टेन्ट विजय घलेले बताए। ‘सामान्य ज्वरो नाप्ने काम मात्र भएको छ,’ उनले भने। जाँचका लागि ठाउँको अभाव भएपछि लाइन लगाएर लामो समयसम्म राख्नुपर्ने बाध्यता छ। खासाबाट रसुवागढी नाका आइपुग्दासम्म धेरै स्थानमा चेक हुने भएकाले संक्रमित आउने सम्भावना कम रहेको उनको भनाइ छ। डेक्समा एकजना मात्र हुँदा काम गर्न कठिनाइ भएको उनले बताए। महिलालाई जाँच्न महिला स्वास्थ्यकर्मी नै आवश्यक रहे पनि हालसम्म त्यस्तो व्यवस्था भएको छैन।

यसैबीच कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनको कार्ययोजना निर्माण गर्न रसुवामा उपसमिति निर्माण गरिएको छ। चीनसँग सीमा जोडिएको जिल्ला भएकाले उच्च जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउनु आवश्यक रहेको प्रजिअ अर्जुन भण्डारीले बताए।

जिल्ला विपद् व्यवस्थापन समितिअन्तर्गत रहेको आपतकालीन स्वास्थ्य विषयगत क्षेत्रको बुधबार बसेको बैठकले कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन विषयमा छलफल गरेर उपसमिति बनाएको हो। गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाको संयोजकत्वमा गठित उपसमितिमा सहायक प्रजिअ सपनाकुमारी भट्टराई, जनस्वास्थ्य अधिकृत सृष्टि नेपाल, जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेल छन्।

समितिले दिएको जानकारीअनुसार तीव्र उद्धार टोली तयारी अवस्थामा राख्ने, सीमा क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जिल्ला अस्पतालमा छुट्टै कोठाबाट उपचार गर्ने व्यवस्था मिलाउने, परीक्षणका लागि आवश्यक पर्ने आधुनिक उपकरण तत्काल व्यवस्था गर्नेलगायत निर्णय गरिएको छ। बैठकमा सीमा क्षेत्र हुँदै नेपालमा पर्न सक्ने संक्रमणको प्रभाव समेतलाई मध्यनजर गर्दै नाकामा रहेको हेल्थ इन्पेक्सन डेक्सलाई उच्च स्रोत तथा साधनयुक्त बनाउने निर्णय पनि भएको छ।नागरिक दैनिकबाट

प्रकाशित मिति: १६ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्