नेकपा कन्द्रीय कमिटी बैठक : मृत्युदण्डको कानुन ल्याउन माग




काठमाडौं, माघ १९
नेपाल कम्युनिस्ट पार्टीभित्र भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था हुने गरी कानुन बनाउनुपर्ने माग उठेको छ। जारी केन्द्रीय समितिको बैठकमा देशमा दिनप्रतिदिन भ्रष्टाचार मौलाउँदै गएकाले मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग उठेको हो।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरू पारदर्शी हुनुपर्ने आवाज उठाएका छन्। समूह नम्बर ५ का टोली नेता ठाकुर गैरेले आफ्नो समूहमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको बताउँदै भन्नुभयो– ‘अहिले मृत्युदण्डको कानुन नभएकाले सरकारले यस्तो कानुन बनाउनुपर्ने माग उठेको छ। भ्रष्टाचार संस्थागतरूपमा अगाडि बढेको छ।

सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्छ। मृत्युदण्डको व्यवस्थाले मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ।’उनीहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०, यती होल्डिङ्स प्रालिको जग्गा भाडालगायतका विभिन्न विषयमा गम्भीर छानबिन गर्न आयोग गठन हुनुपर्नेसमेतका माग उठाएका छन्।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधनको प्रस्तावमाथि समूहगत धारणा राख्ने काम सम्पन्न भएको छ।शुक्रबार र शनिबारसम्म १५ समूहका नेताहरूले बैठकमा रिपोर्टिङ पेस गरेका छन्।

त्यसक्रममा केन्द्रीय सदस्यहरूले सरकारले प्रभावकारीरूपमा काम गर्न नसकेको, सरकारका मन्त्रीहरू, पार्टीका नेताहरू विभिन्न काण्डमा मुछिन थालेकाले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेजस्ता माग गरेका थिए।

सोही क्रममा शनिबार समूहगत धारणा राख्दै समूह नम्बर १५ का टोलीनेता हिमाल शर्माले पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पार्टीले नै छानबिन गर्नुपर्ने विचार राख्नुभएको थियो।

कतिपय केन्द्रीय सदस्यहरूले एमसीसी पास गर्न नहुने विचार राखेका थिए। समूह नम्बर १० मा समूह नेता युवराज चौलागाईंले बालुवाटार जग्गा प्रकरण, एनसेल लाभकर, यती होल्डिङ्स जग्गा विवादबारे पार्टीको दृष्टिकोण प्रस्ट हुनुपर्ने माग गर्दै दोषीमाथि कारबाही हुनुपर्ने रिपोर्टिङ गर्नुभयो।

केन्द्रीय सदस्य धर्मशीला चापागाईंले भ्रष्टाचारका कारण राजनीतिप्रति नै सर्वसाधारणको वितृष्णा बढ्न र सार्वजनिक पदमा पुग्नेहरू भ्रष्टाचारमा उद्यत हुन थालेकाले भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गर्नुभयो।

उहाँले भन्नुभयो– ‘कम्युनिस्टहरूलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुने अवस्था आएको छ, अब नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ।’

समूहगत रिपोर्टिङ गर्ने क्रम सकिएको बताउँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो– ‘आइतबार सचिवालय बैठक बसी एमसीसीदेखि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरूबारे निर्णय लिइन्छ।’

अध्यक्षद्वय र महासचिवले आइतबार नै प्रश्नको जवाफ दिएसँगै बैठक सम्पन्न हुनेछ। यही माघ १५ गतेदेखि शुरू भएको उक्त बैठक आज सकिने भएको छ। नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News