हुबेइमा ६ करोड मानिस घरभित्रै, हिँडडुल गर्न पनि प्रतिबन्ध


 



काठमाडौं, फागुन ५
कोरोना भाइरसको केन्द्रबिन्दु हुबेइ प्रान्तमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । कोरोनाको संक्रमण रोक्न चीनले हुबेईका करिब ६ करोड मानिसलाई घरबाहिर ननिस्कन भनेको छ । साथै निजी कार र सवारीसाधनको प्रयोगमा अनिश्चित कालसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।

हुबेइ प्रान्त र त्यसको राजधानी वुहान शहर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् ।
हुबेइ प्रान्तका करिव ६ करोड मानिसहरूलाइ घरभित्रै रहन भनिए पनि उनीहरू आपत्कालीन अवस्थामा चाहिँ बाहिर निस्किन पाउने जनाइएको छ । खाद्यान्न तथा अन्य सामान खरिद गर्नुपरेमा एक घरबाट एक जनालाई तीन(तीन दिनको अन्तरमा मात्र बाहिर निस्किन अनुमति दिइनेछ ।

अत्यावश्यकीय सेवा, औषधि पसल, होटल, खाद्यान्न पसल र चिकित्सकीय सेवाबाहेक अरू सबै कारोबार र सेवा बन्द गराइएको छ भने सबै मानिस कडा निगरानीमा राखिएको छ । त्यहाँ आइतबरसम्म एक हजार सात सय ७० जनाको ज्यान गइसकेको छ भने करिब ७० हजार भन्दा बढीमा यसको सङ्क्रमण देखिएको छन् ।

यद्यपि चीनले यो भाइरस संक्रमणको दर क्रमशः घट्दै गएको जनाएको छ । थप सङ्क्रमण फैलिनबाट रोक्नका लागि प्रतिबन्धात्मक कदमहरु बढाउनुपरेको जनाइएको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्