जबरजस्ती करणी मुद्दामा पूर्व सभामुख महरालाई सफाई


 



काठमाडौं, फागुन ५
जबरजस्ती करणी मुद्दाको आरोपमा कारागार रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट सोमबार आएको फैसलामा महराले सफार्इ पाएका हुन्।

जिल्ला अदालत काठमाडौंमा आइतबरै दुवै पक्षको बहस सकिएको थियो। तर फैसलाका लागि समय अपुग भएको भन्दै महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि हाल डिल्ली बजार कारागारमा थिए।

महराको पक्षमा अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा. भीमार्जून आचार्य र सबिता भण्डारी बरालले बहस गरेका थिए। त्यसैगरि अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा. दिनमणि पोखरेलले पनि महराको पक्षबाट बहस गरे।

सरकारी वकिलहरुले बहस गरिसकेपछि महराको पक्षबाट बहस भएको थियो। यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते बलात्कार प्रयास गरेको अभियोग महरामाथि लागेको थियो।

गत असोज १९ गते पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतले थुनामा पठाएपछि महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। उच्च अदालतले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो।

प्रकाशित मिति: ५ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्