चिनियाँ नफर्किंदा विमानस्थल निर्माण प्रभावित



काठमाडौँ, फागुन १२
चीनमा कोरोना भाइरस संक्रमणका कारण नेपालका दुई ठूला विमानस्थल निर्माण प्रभावित भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका चिनियाँ आफ्नो नयाँ वर्ष मनाएर फर्किन पाएका छैनन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आउनुपर्ने चिनियाँ पनि उतै रोकिएका छन्।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थलमा चीनबाट फर्किनुपर्ने दक्ष जनशक्ति मात्रै होइन, आवश्यक सामग्रीसमेत रोकिएका छन्। यो विमानस्थलमा भौतिक संरचना निर्माणको ठेक्का चिनियाँ कम्पनीले लिएको छ। विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारी २० प्राविधिक चीनमै रोकिएका कारण काम प्रभावित भएको बताउँछन्। यहाँ प्राविधिकसहित ४० चिनियाँ काम गर्छन्। उनीहरूसँगै ८० नेपाली निर्माणमा खटिएका छन्।

उनका अनुसार उपकरण जडान गर्न ढिलाइ भएको छ। उपकरणहरूसमेत चीनबाट ल्याउनुपर्ने थियो। ‘आईसीबी वान’अन्तर्गत भइरहेको काममा टर्मिनल भवनमा ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ र धावनमार्गका लागि ‘लाइटिङ’ सामग्री चीनबाट ल्याउने हो। त्यहाँबाट हवाई उडान हुन नसक्दा उपकरण ल्याउन समस्या भएको उनी सुनाउँछन्।

उनका अनुसार अब समयमा काम सक्न गाह्रो देखिएको छ। विमानस्थलमा १३ प्रतिशत मात्रै काम बाँकी छ। निर्माण सम्पन्न गर्न मार्च ३१ सम्मका लागि चौथो पटक म्याद थपिएको छ। यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा लक्ष्मण पोखरेल र कृष्णमणि बरालले लेखेका छन।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News