अझै पक्की भवनकै खोजीमा भोजपुरका कार्यालय


 


bhojpur-district

भोजपुर, भदौ २८  गत वैशाख १२ गतेको भूकम्पले क्षति पुगेपछि भोजपुरमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय पक्की भवनको खोजीमा रहेका छन् ।

भवन चर्किएर बस्नै नमिल्ने भएपछि खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय पक्की भवनमा सरेको छ । कार्यालयको आफ्नै भवन भत्किएपछि भाडा तिरेर अर्को पक्की घरमा सरेको हो । त्यसैगरी भूकम्पले बस्न नमिल्ने गरी चर्किएको भूसंरक्षण कार्यालय आगामी असोज १ गते पक्की भवनमा सर्ने तयारीमा रहेको छ ।

पछिल्लो समयमा बनेका जिल्ला शिक्षा, स्वास्थ्य, कृषि, मालपोत, नापी, वनलगायतका सरकारी कार्यालयको पक्की भवन भएपनि अन्य कार्यालय भने कच्ची भवनमा बस्दै आएका थिए । त्यसमध्ये पनि सिँचाइ, प्रहरी, जिविस, अदालत सरकारी वकिल कार्यालयको आफ्नै भवन छ भने, जिल्ला खेलकुद, आयुर्वेद, भूसंरक्षण, जिल्ला निर्वाचन लगायतका कार्यालय भाडाको कच्ची घरमा बस्दै आएका छन् ।

भूकम्पले जिल्लाका ५९ वटा सरकारी कार्यालयमा क्षति पुगेको थियो । सबैभन्दा बढी क्षति खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयमा पुगेको हो । त्यसैगरी दोभाने र पांचाको स्वास्थ्यचौकी, अन्नपूर्ण इलाका प्रहरी, इलाका स्वास्थ्यचौकी साङ्गपाङ्ग, महिला विकास रानीवासको भवनमा पूर्ण क्षति पुगेको छ ।

त्यस्तै, बास्तिम, बोया, खाटम्मा, पांचा, रानीवास र श्यामशिला गाविसको भवन पनि क्षतिग्रस्त रहेको छ । भवन भत्केपछि सामुदायिक भवन तथा सुरक्षित रहेका भवनबाट सेवा प्रदान गरिरहेको स्थानीय विकास अधिकारी भानुभक्त न्यौपानेले जानकारी दिनुभयो ।

सरकारी मात्र हैन गैरसरकारी संस्थाका कार्यालय पनि पक्की घर खोज्दै सर्न थालेका छन् । सामुदायिक क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था हिहल्र्ड नेपाल पहिले बसिरहेको भवन कामै नलाग्ने गरी चर्किएपछि अर्को पक्की भवनमा सरेको छ भने सामूहिक अभियानले पनि आफ्नै जग्गामा जस्तापाताले बारेर बसिरहेको छ ।

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्