भोजपुरमा एक सातादेखि हवाई उडान अवरुद्ध


 


bhojpur

भोजपुर,  भदौ २८  भोजपुर जिल्लामा एक सातादेखि हवाई उडान अवरुद्ध भएको छ ।

नेपाल वायुसेवा निगमले मौसमका कारण देखाउँदै हवाई उडान सञ्चालन गर्न सकेको छैन । भोजपुरमा रहेको एकमात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान हुन नसकेको हो । भोजपुरमा नियमित उडान हुन नसक्दा बिरामीलाई प्रत्यक्ष असर पुगेको छ ।

मौसमका कारण उडान हुन नसकेको वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिनुभयो । उहाँले एक सातादेखि उडान नहुँदा यात्रु कसरी पठाउने भन्ने चिन्ता थपिएको बताउनुभयो ।

जिल्ला अस्पतालबाट उपचार हुन नसक्ने बिरामीको सुविधाका लागि विमानमा केही सिट छुट्याइने गरिएको छ जसअनुसार विराटनगरका लागि दुई र काठमाडौँ दुईजना सिफारिस गर्ने गरिएको छ ।

निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले पनि हप्तामा एक दिन काठमाडौँ उडान गर्दै आएको छ । सो उडान पनि विगत चार महिनादेखि बन्द छ । भोजपुरमा नेपाल बायुसेवा निगमले विराटनगरका लागि मङ्गलबार, बिहीबार र शनिबार तीन उडान गर्ने गरेको छ ।

त्यस्तै काठमाडौँका लागि चार उडान भर्दैै आएको छ । यसैबीच वर्षात्का कारण भोजपुरका सबैजसो सडक अहिले अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण भोजपुर–लेगुवा, भोजपुर घोरेटार, भोजपुर दिङ्ला र भोजपुर अन्नपूर्ण चखेवा सडक हिलाम्मै भएपछि यातायात सञ्चालनमा समस्या आएको हो ।

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्