यस्तो बन्दैछ भोजपुर अस्पताल (फोटो फिचर)


 


भोजपुर, जेठ २०
पूर्वि पहाडी जिल्ला भोजपुरमा ५० शै¥या क्षमताको अस्पताल निर्माण शुरु भएको छ । बुधबार जिल्ला अस्पतालको नवनिर्माण हुने भवनको शिलन्यास समेत गरिएको छ । भवनको सभासद जयन्ती राईले शिलान्यास गरिन् ।

यो अस्पतालको भवन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, धनकुटाले बनाइदिन लागेको हो । गत बर्षको चैत्र २२ गतेबाट भवन निर्माण कार्य प्रारम्भ भएको थियो भने बुधबार शिलान्यास गरेर निर्माण कार्यलाई औपचारिकता दिइएको हो । चारतले भवनको डाँफे, सिद्धबाबा, सगरमाथा घिमिरे निर्माण कम्पनीले संयुक्त रुपमा निर्माणको जिम्मा लिएका हुन् ।

तीन बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी १२ करोड २४ लाख ६५ हजार ८२ रुपैयाँमा उक्त कम्पनीले सम्झौता गरेको हो । सम्झौता अनुसार ०७४ चैत्र २१ गते निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ । झण्डै ३६ सय वर्गमिटर क्षेत्र ओगट्ने भवनको ६८ वटा कोठा रहने छन् । शहरी विकास कार्यालयको नक्सा डिजाइन अनुसार बेसमेन्टमा नौ कोठा, ग्राउण्ड तलामा २७ कोठा रहने छन्, जहाँ इमरजेन्सी, ओपीडी, र इमरजेन्सी अपरेशन हुनेछ ।
भवनको पहिलो तलामा २६ र दोस्रो तलामा ९ कोठा रहने डिभिजन कार्यालय धनकुटाले जनाएको छ । नयाँ भवन अहिले अस्पताल भएकै ठाउँमा बन्न लागेको हो । यतिबेला पुरानो अस्पताल भत्काउन थालिएको छ भने अस्पताल छेउमै रहेको प्रसृति गृहको भवनबाट विरामीको उपचार हुन थालेको छ । निर्माण कार्य सम्पन्न गर्न झण्डै तीन बर्ष लाग्ने भएपछि अस्पतालको सुविधा सुचारु गराउन ट्रष्ट राखेर बैकल्पिक अस्पताल निर्माण शुरु भएको छ ।

SAM_5409

प्रकाशित मिति: २० जेष्ठ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्