शंकर पोखरेलको कटाक्ष- काम बाहेक केही नगर्ने सरकारमै लोडसेडिङको पीडा
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारमाथि कटाक्ष गर्दै ‘काम बाहेक केही नगर्ने’ भन्ने दाबीका बीच विद्युत् आपूर्तिको समस्या भोग्नुपरेको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले कार्यक्रम नै विद्युत् अवरोधका बीच सुरु गर्नुपरेको उल्लेख गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
उनले भने- ‘काम बाहेक केही नगर्ने भन्ने प्रधानमन्त्रीको शासनमा विद्युत् आपूर्तिको पीडा बेहोर्दै हामी कार्यक्रम सुरु गर्दैछौँ। यसले पनि काम कसरी भइरहेको छ भन्ने देखाउँछ। भर्चुअल दुनियाँमा धेरै चर्चा–परिचर्चा भए पनि आम नागरिकले महसुस गर्ने गरी काम हुन सकेको छैन।’
पोखरेलले सरकारले नागरिकका समस्या समाधान गर्नुको सट्टा थप पीडा दिएको आरोपसमेत लगाए। जनताले ठूलो जनादेश दिए पनि सरकारप्रति आश्वस्त हुनुपर्ने अवस्थामा नागरिक सन्त्रस्त बन्नुपरेको उनको भनाइ थियो।
उनले संसदीय दलको भूमिकालाई थप प्रभावकारी बनाउन सांसदहरूले आफ्नो स्वकीय सचिव छनोटमा विशेष ध्यान दिनुपर्ने बताए। स्वकीय सचिव घरायसी सहयोगीका रूपमा नभई संसदीय काममा सहयोग गर्ने दक्ष र प्रविधिमैत्री व्यक्ति हुनुपर्ने उनको जोड थियो।
सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) को ज्ञान भएका व्यक्तिलाई स्वकीय सचिवका रूपमा छनोट गर्न सके संसदीय कार्यसम्पादन अझ प्रभावकारी हुने पोखरेलले बताए।
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार







