भोजपुरलाई भूकम्प प्रभावित जिल्ला घोषणा गर्न माग


 


विराटनगर जेष्ठ,  २१

महाभूकम्पले अत्याधिक क्षति भएपनि भोजपुरलाई भूकम्प प्रभावित जिल्ला घोषणा नगरिएकोमा सत्तारूढ नेकपा एमालेले आपत्ति जनाएको छ। एमालेको कोसी अञ्चल कमिटीले भोजपुरलाई तत्कालै भूकम्प प्रभावित जिल्ला घोषणा गर्न माग गरेको छ।

एमालेका केन्द्रीय सदस्य एवं कोसी अञ्चल इन्चार्ज जीवन घिमिरेले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै भोजपुरलाई भूकम्प प्रभावित जिल्लामा समेट्न माग गरेको हो । कोसी अञ्चलको ६ जिल्लामध्ये भोजपुर भूकम्पले सबैभन्दा बढी प्रभावित भएको जिल्ला हो ।

भूकम्पले भोजपुरमा ३२ सय ३० घर पूर्णरुपमा क्षति, ६ हजार तीनसय १६ वटा घर आंशिक क्षति, ६१ वटा विद्यालय क्षतिग्रस्त र दुई जनाको मृत्यु भएको छ । भूकम्पले भोजपुरका दुई नगरपालिका र ५४ वटै गाविसमा क्षति पुर्याएको छ ।

‘यतिधेरै क्षति हुँदा पनि सरकारले भोजपुरलाई भूकम्प प्रभावित जिल्ला घोषणा गरेको छैन,’ घिमिरेले भने, ‘भोजपुरलाई भूकम्प प्रभावित जिल्ला घोषणा गर्न सरकारसंग माग गरेका छौं।’

प्रकाशित मिति: २१ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्