विश्वभर कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख बढी संक्रमित


 


एजेन्सी, चैत्र २६
चीनबाट सुरू भइ विश्वभरकाे रूपमा फैलिरहेकाे महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार २० पुगेको छ। विश्वभर एकै दिन थप ७ हजार ३४१ ले ज्यान गुमाएका छन्। गत डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु भएको कोरोना संक्रमण १४ लाख २८ हजार ४२८ मा पुष्टि भइसकेको छ। तीमध्ये ३ लाख १९८ निको भएका छन्।

अमेरिकामा थप २९ हजार ४१२ संक्रमित भेटिएका छन्। त्यस्तै १ हजार ९४२ को थप ज्यान गएको छ। यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ८४४ पुगेको छ।
पछिल्लो केही समयदेखि अमेरिकामा मृतक र संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् ।

इटाली र स्पेनमा भने तुलनात्मक रूपमा नयाँ संक्रमण र मृत्युदर घटेको छ। स्पेनमा थप ५ हजार २६७ नयाँ संक्रमित भेटिँदा इटालीमा ३ हजार ३९ मात्र भेटिएका छन्। त्यस्तै स्पेनमा गत २४ घण्टाभित्र ७०४ जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा इटालीमा ६०४ को मृत्यु भएको छ। यससँगै इटालीमा ज्यान गुमाउनेका संख्या १७ हजार १२७ पुगेको छ भने स्पेनमा १४ हजार ४५ पुगेको छ।

महामारी सुरुवात भएको चीनमा ६२ जना नयाँ संक्रमित पुष्टि भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। तीमध्ये ५९ जना अन्य देशबाट आएकामा संक्रमण देखिएको हो। यससँगै चीनमा संक्रमित संख्या ८२ हजार ७१८ पुगेको छ। तर चिनियाँ सञ्चार माध्यम सीजीटीएनले भने ८१ हजार ८०२ रहेको उल्लेख गरेको छ।

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

कुन देशमा कति (आँकडा)

अमेरिका
संक्रमित: ३,९६,२२३
मृत्यु: १२,८४४
निको: २१,८४९

स्पेन
संक्रमित: १,४१,९४२
मृत्यु: १४,०४५
निको: ४३,२०८

इटाली
संक्रमित: १,३५,५८६
मृत्यु: १७,१२७
निको: २४,३९२

फ्रान्स
संक्रमित: १,१०,०६५
मृत्यु: १०,३४३

निको: १९,५२३

जर्मनी
संक्रमित: १०७,६६३
मृत्यु: २,०१६
निको: ३६,०८१

चीन
संक्रमित: ८२,७१८
मृत्यु: ३,३३५
निको: ७७,४१०

इरान
संक्रमित: ६२,५८९
मृत्यु: ३,८७२
निको: २७,०३९

बेलायत
संक्रमित: ५५,९४९
मृत्यु: ६,१७१
निको: ३२५

टर्की
संक्रमित: ३४,१०९
मृत्यु: ७२५
निको: १,५८२

स्वीजरल्यान्ड
संक्रमित: २२,२५३

मृत्यु: ८२१
निको: ८,७०४

बेल्जियम

संक्रमित: २२,१९४
मृत्यु: २,०३५
निको: ४,१५७

भारत
संक्रमित: ५,३११
मृत्यु: १५०
निको: ४२१

नेपाल
संक्रमित: ९
मृत्यु: ०
निको: १
(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्