जेलेन्स्कीको पुटिनलाई खुला पत्र – प्रत्यक्ष वार्ता प्रस्ताव, पूर्ण युद्धविराम माग



एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन्।

उनले दुवै देशबीचको सीधा संवादमार्फत मात्र स्थायी शान्ति सम्भव हुने दाबी गरेका छन्। जेलेन्स्कीले पत्रमा वार्ता सुरु हुनुअघि नै पूर्ण युद्धविराम आवश्यक रहेको उल्लेख गरेका छन्।

उनका अनुसार शान्ति प्रक्रिया अघि बढाउनका लागि दुवै पक्षले आक्रमण रोक्नुपर्नेछ, यद्यपि पुटिनले बिहीबार नै उक्त प्रस्ताव अस्वीकार गरिसकेका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी अमेरिकाको ध्यान अन्य संकटतर्फ केन्द्रित भइरहेकाले समय खेर फाल्नु युक्रेनका लागि घातक हुन सक्ने चेतावनी पनि दिएका छन्।

उनले अमेरिकाको ध्यान पुनः युक्रेनतर्फ फर्कने प्रतीक्षामा बस्नु रणनीतिक रूपमा गलत हुने टिप्पणी गरेका छन्।

१८०० भन्दा बढी शब्दको भनिएको उक्त पत्रमा जेलेन्स्कीले केही आक्रामक र व्यङ्ग्यात्मक शैली प्रयोग गर्दै पुटिनको दीर्घ शासन र नेतृत्व क्षमतामाथि टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘हामी हाम्रा नागरिकहरूको रक्षा गर्न चाहन्छौँ, तर हरेक क्षति हाम्रो लागि गहिरो पीडा हो।’ जेलेन्स्कीले वार्ताका लागि स्विट्जरल्याण्ड वा टर्की जस्ता तटस्थ मुलुक उपयुक्त हुने प्रस्ताव गरेका छन्।

तर, रुसी राष्ट्रपति पुटिनले सेन्ट पिटर्सबर्गमा आयोजित आर्थिक मञ्चको साइडलाइनमा पत्रकारहरूसँग कुरा गर्दै रूस वार्ताका लागि तयार रहेको भए पनि त्यसका लागि युक्रेनले भूभाग छोड्नुपर्ने शर्त दोहोर्‍याएका छन् ।

रुसले डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जिया क्षेत्र आफ्नो नियन्त्रणमा मानिनुपर्ने तथा युक्रेनले नेटो सदस्यता प्रयास त्याग्नुपर्ने अडान राख्दै आएको छ।

पुटिनले जेलेन्स्कीको वैधानिकतामाथि प्रश्न उठाउँदै उनी युक्रेनको वास्तविक प्रतिनिधि हुन् वा होइनन् भन्ने विषय कानुनी बहसको विषय भएको टिप्पणी पनि गरेका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच वार्ता हुनु सकारात्मक सुरुवात हुने प्रतिक्रिया दिँदै केही न केही सम्झौता गरेर युद्ध अन्त्यतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्