अमेरिकामा हरेक दिन एक लाख व्यक्तिमा कोरोनाको परीक्षण गरिँदै


 


एजेन्सी, चैत्र २८
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहिबारको प्रेस ब्रिफिङमा औषधी उत्पादक कम्पनी फाइजरले कोरोनाभाइसलाई पुनरावृत्ति हुन रोक्न सक्ने एउटा आशालाग्दो नयाँ उपचार विधि खोजेको जानकारी दिएका छन् ।

उनका अनुसार यो उपचारका लागि क्लिनिकल ट्रायल पनि निकै चाँडै सुरु हुनेछ । ब्रिफिङको क्रममा उपस्थित रहेका उप–राष्ट्रपति माइक पेन्सले अमेरिकाले हरेक दिन एक लाख अमेरिकीमाथि परीक्षण गरिरहेको जानकारी दिए । र प्रशासनले उक्त परीक्षणको संख्या बढाउन प्रयास गरिरहेको पनि उनले बताए ।

उनले यूएसएनएस कम्फर्ट (जहाज अस्पताल) बारे पनि जानकारी दिँदै उक्त जहाजका कारण अस्पतालको अतिरिक्त बोझ हटेको उल्लेख गरे । ह्वाइट हाउसका कोरोनाभाइरस टास्क फोर्सका डा. एन्थोनी फाउचीले अमेरिकामा मृत्युदर लगातार बढिरहेको भएपनि सामाजिक दुरीजस्ता प्रतिबन्धको सकारात्मक असर अमेरिकामा परिरहेको बताएका छन् ।

कोरोनाबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या १६ हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ । संक्रमितको संख्या ४ लाख ६८ हजार ५५६ पुगेको छ ।

अहिलेसम्म अमेरिकामा करिब २५ हजार ९ सय २८ संक्रमित निको भइसकेका छन् ।चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ ।

प्रकाशित मिति: २८ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्