दशैंमा ३ हजार गाडी थपिने


 


busसुरेन्द्र सुवेदी
काठमाडौं, असाेज ३

नजिकिएको दशैं, तिहार र छठ पर्वमा राजधानीबाट घर फर्कन करिव ३ हजार बस, मिनीबस, माइक्रोबस थपिने भएका छन् । यही असोज ७ बाट यात्रुवहाक गाडीका लागि अग्रिम टिकट बुकिङ सुरु हुने भएको छ ।

नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार नयाँ गाडी ल्याउने अवस्था नभएकोले देशभर सञ्चालन हँुदै आएका बस, मिनिबस र माइक्रोबसलाई नै लामो र छोटो दूरीमा गुडाइने छ । उनले भने, ‘हाल दैनिक एक हजारदेखि १ हजार २ सयसम्म लामो र छोटो दूरीमा बस, मिनिबस र माइक्रोबस चल्दै आएकोमा दशैंको समयमा करिव ४ हजार पु¥याइने छ ।’

यातायात व्यवस्था बिभागमा उपभोक्ता, यातायात व्यवसायी, मजदुर, ट्राफिक प्रहरीसमेतको छलफलपछि यही असोज ७ गतेबाट अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको छ । गत वर्ष भने दशैं आउनु एक महनिाअघि नै अग्रिम बुकिङ खुलिसकेको थियो ।

राजधानीका कलंकी, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, नयाँबानेश्वर, एयरपोर्टसमेतका स्थानमा अग्रिम बुकिङ गरिनेछ । ती स्थानसमेत १२ ठाउँमा यातायात व्यवस्था बिभागले नागरिक सहायता कक्ष पनि राख्ने छ ।

ती कक्षमा राजधानीबाट बाहिरिने स्थानको भाडा उल्लेख भएका फ्लेक्स बोर्ड रहनेछन् । यात्रीलाई कुनै जानकारी दिन प¥यो भने प्रहरी र ट्राफिक प्रहरी खटिने भएका छन् ।

यातायात व्यवस्था बिभागका प्रवक्ता बसन्त अधिकारीका अनुसार जिर्ण सडकहरु मर्मत गर्न सडक बिभागलाई अनुरोध गर्ने, लामो दूरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नु पर्ने, व्यवसायीका तर्फबाट परिचय पत्र भएका व्यक्तिसँगमात्र टिकट खरिद गर्नु पर्ने, टिकटमा यात्रुको नाम, ठेगानादेखि सम्पर्क नम्बर पनि उल्लेख गर्नु पर्नेसमेतका निर्णय भएको छ ।

उनले भने, ‘राजधानीमा यात्रुको सहजताका लागि १२ वटा र राजधानी बाहिर पनि आवश्यकताअनुसार नागरिक सहायता कक्ष राखिने छ ।’
यो वर्ष १८ देखि २० लाख राजधानीबाट बाहिरिने यातायात व्यवस्था कार्यालयले अनुमान गरेको छ तर यातायात व्यवसायी भने करिव २५ लाख राजधानीबाट बाहिरिने बताउँछन् ।

यातायात व्यवसायीले राजधानीबाहिर रुट परमिटमा केही समस्या भएको भन्दै छिटो भन्दा छिटो रुट परमिट दिन माग गरेका छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने समितिले रुट परमिट दिन्छ । केही समयअघि भएका सवारी दुर्घटनापछि रुट परमिटहरु खारेज भएको भन्दै आवश्यकताअनुसार परमिट दिन ब्यवसायीहरुले माग गर्दैै आएका छन् ।

प्रहरीले लामो दूरीका सवारी चालकलाई रिफ्रेस सेन्टरमा राखेर आरामको सुविधा दिने तयारी गरेको छ । ट्राफिक प्रहरीले देशभरका सयबढी स्थानमा रिफ्रेस सेन्टर राख्ने छ । त्यहाँ लामो दूरीका सवारी चालकलाई आराम गर्न दिने व्यवस्था गत वर्षको दशैंबाट सुरु भएको हो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिने प्रहरीले जनाएको छ ।

यातायात व्यवस्था कार्यालयले यातायात व्यवसायी र तिनका कर्मचारीलाई दोहोरो टिकट नकाट्न, सिटभन्दा बढी यात्रु नराख्न निर्देशन दिएको छ भने ट्राफिक प्रहरी र प्रहरीले ठाउँठाउँमा चेकजाँच गर्ने बिभागका प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्