कृषि विकास कार्यालय भोजपुरमा एक दर्जन कर्मचारी रिक्त


 


भोजपुर, असोज ४

जिल्ला कृषि विकास कार्यालय भोजपुरमा एक दर्जन कर्मचारी रिक्त रहेको पाइएको छ । जसमा प्राविधिक सहायक ४ जना, नायव प्राविधिक सहायक ४ तथा कार्यालय सहयोगी ४ गरी कुल १२ दरबन्दी रिक्त रहेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी कपिलदेव दासले बताए ।
रिक्त दरबन्दीमा कृषि सेवा केन्द्रहरु दिङ्गला, प्याउली, घोडेटार र अन्नपूर्णमा प्राविधिक सहायक एक एक जना, सेवा केन्द्र च्याङ्गग्रे र बालँखामा नायव प्राविधिक सहायक एक एक जना तथा कृषि सेवा केन्द्र अन्नपूर्णमा दुई जना नायव प्राविधिक सहायक रिक्त रहेको पाइएको हो ।
कुल ६४ कर्मचारीको दरबन्दी रहेको जिल्ला कृषि विकास कार्यालयमा ३६ जना कर्मचारी कार्यरत छन् । यस्तै इलाकास्तरमा रहेका ६ वटा केन्द्र तथा एउटा सम्पर्क केन्द्रमा गरी २८ जना कर्मचारी फिल्डमा कार्यरत रहेका छन् । जसमध्ये एक जना योजना अधिकृतको सरुवा पत्र आएको तर हाजिर हुन नआएकोले कारवाहीको लागि कृषि विभागमा पत्राचार गरेको पनि कार्यालयले जनाएको छ । त्यस्तै प्राविधिक सहायक गणेश खत्री २०७० चैत्रदेखि सामान्य प्रशासन मन्त्रालयको सहमतिमा बागवनी विकास केन्द्र, जौबारी इलाममा काजमा पठाएको पनि कार्यालयले जनाएको छ ।

कार्यालयले चालु आर्थिक वर्ष २०७३।७४ को लागि ५ करोड बढी बजेटसहित वार्षिक कार्यक्रम स्वीकृत भएको छ । जसमा कृषि प्रसार कार्यक्रमका लागि ३ करोड ३४ लाख ४९ हजार, साना सिँचाई तथा रसायनिक मल बीउ ढुवानी कार्यक्रममा १ करोड ३९ लाख २० हजार, आलु तरकारी तथा मसला विकास कार्यक्रमको लागि ७ लाख ६ हजार, समुदाय व्यवस्थित सिँचित कृषि क्षेत्र विकास कार्यक्रमको लागि १५ लाख र बालि विकास कार्यक्रमको लागि १५ लाख १२ हजार गरी कुल ५ करोड १० लाख ८७ हजार बजेटसहितको वार्षिक कार्यक्रम रहेकोे छ ।

भोजपुर रानीबास ६ निवासी पत्रकार विद्या राई र धनकुटा कुरुले तेनुपाका सूचनाको हकका अभियन्ता नोदनाथ त्रितालले सूचनाको हक प्रयोग गरी गत भाद्र ३१ गते यस सम्बन्धी सूचना माग गरेका थिए । कार्यालयले उहाँहरुलाई लिखित सूचना उपलब्ध गराउँदै यो जानकारी गराएको हो ।

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्