पूर्वसचिव उपाध्यायविरुद्ध ५ वर्ष कैदसहितकाे सजाय माग गर्दै मुद्दा दायर


 


काठमाडौँ, बैशाख १५
राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध जथाभावी लेखेको आरोपमा प्रहरीले पूर्वसचिव भीम उपाध्यायमाथि विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको छ । जिल्ला अदालत काठमाडौंमा दायर आरोपपत्रमा उपाध्यायमाथि एक लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद मागदाबी गरिएको छ ।

नजिबुल्लाह अन्सारीले गृह मन्त्रालयमा दिएको निवेदनका आधारमा उपाध्यायमाथि मुद्दाको प्रक्रिया अघि बढेको जिल्ला अदालत स्रोतले बतायो। तर अन्सारी को हुन् र उपाध्यायले सामाजिक सञ्जालमा के लेखेका कारण उनी पीडित भए भन्ने खुल्दैन। अन्सारीको निवेदन गृह मन्त्रालयले प्रहरीमा पठाएको थियो।

पूर्वसचिव उपाध्यायसहित ११ जना संलग्न भएको भनी निवेदन परे पनि प्रहरीले भने उनलाई मात्रै मुद्दा चलायो। पछिल्लो सातामा पोस्ट गरेका चारवटा विषयवस्तुलाई आधार मानेर उपाध्यायसँग बयान भएको उनका एक कानुन व्यवसायीले बताए। उनले व्यक्ति किटान नगरी ‘चारवटा मिर्गौला राखेका’ कारण यस्ता क्रियाकलाप गरेको भनी पोस्ट गरेका थिए। स्रोतका अनुसार, प्रधानमन्त्री केपी ओलीलाई संकेत गर्दै लेखिएको उक्त पोस्टका कारण उनको सचिवालयका कर्मचारीहरु क्रुद्द थिए। ‘त्यहीबाट आएको फोनका कारण गृह मन्त्रालयले पत्र लेखेको देखिन्छ’ स्रोतले भन्यो।

उपाध्यायले अर्को ट्विटमा ‘मिर्गौलामात्रै नभई मष्तिष्कसमेत प्रत्यारोपण गरेको’ भनी सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। त्यसलाई समेत ओली समर्थकहरुले प्रधानमन्त्रीमाथि गरिएको व्यंग्यको रुपमा अर्थ लगाए। तर उपाध्यायले त्यो पोस्टमा पनि व्यक्तिको नाम किटान नगरेको दाबी गरेका छन्।

कोरोना भाइरसका बारेमा प्रधानमन्त्री ओलीले गरेको भ्रमपूर्ण भाषणबारे उनको अर्को ट्विट थियो। जसमा उनले भनेका छन्– ‘कोरोना बासिय फ्याटीय तत्व हो, तातो खाने बस्ने, नेपालमा महामारी रुप लिनै सक्दैन– वरिष्ठ भाइरोलजिष्ट तथा ईपिडिमिओलोजिष्ट डा. ओली।’ हालसम्म नमेटिएको उक्त पोस्टमा भने उपाध्यायले प्रधानमन्त्रीको नाम नलिई डा. ओलीमात्रै भनेर संकेत गरेका छन्। आरोपपत्रमाथि सोमबार नै बयान भएर थुनछेक बहस हुनेछ। कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १५ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्