वरिष्ठ सई बुढा उत्कृष्ट प्रहरी घोषित



सन्दिप कुमार बैश्य
बर्दिया । बर्दियामा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक(वरिष्ठ सई) जनक बहादुर बुढा जिल्लाकै असार महिनाको ‘बेष्ट पुलिस अफ द मन्थ’ (उत्कृष्ट प्रहरी) घोषित भएका छन् ।

सांगठनिक नीति निर्देशन बमोजिम प्रदान गरिएको पेसागत जिम्मेवारीलाई पूर्ण व्यावसायिक साथ सम्पादन गर्दै आएका प्रहरी चाैकी महम्मदपुर बर्दियामा कार्यरत वरिष्ठ सई बुढा असार महिनाको ‘बेष्ट पुलिस अफ द मन्थ’ घोषित भएका हुन् ।

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्ण रूपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गरेकाले उनलाई उत्कृष्ट प्रहरीको रूपमा घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकमाझ प्रहरी संगठनको गरिमा राखेकोमा योगदानको उच्च कदर गर्दै वरिष्ठ सई बुढा उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।

उनले भने,’ अवैध रूपमा भारतबाट भन्सार छली नेपाल तर्फ भित्रिने विभिन्न माल समानहरू लगायत लागू औषध(ब्राउन सुगर) बरामद गर्नुका साथै ओसार पसार गर्ने व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको र मानव बेच बिखन तथा ओसार पसार नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गरेकोले वरिष्ठ सई बुढा जिल्लाकै २०८३ साल असार महिनाको उत्कृष्ट प्रहरीको रूपमा छनिएपछि उहाँलाई ‘बेष्ट पुलिस अफ द मन्थ’ घोषित गरिएको हो।’

उनका अनुसार अनुसार बुढा २०८२ साल चैत १५ गतेदेखि प्रहरी चौकी महम्मदपुरको इन्चार्जका रूपमा कार्यरत छन्।

यस क्षेत्रमा पछिल्लो समय वरिष्ठ सई बुढाले भारतबाट भन्सार छली नेपाल भित्र्याइने विभिन्न मालसामान नियन्त्रण गर्नुका साथै लागूऔषध ब्राउन सुगर बरामद गरी ओसारपसारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन नाकामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । महिनाभर उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई यो अवार्ड दिने गरिन्छ ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार