लकडाउनमा ८२ हजार सुरक्षाकर्मी


 


काठमाडौँ, बैशाख १८
कोभिड-१९ रोकथाम र नियन्त्रणमा सरकारले चारै सुरक्षा निकाय सेना, प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका गरी ८२ हजार ६ सय ५० सुरक्षाकर्मी परिचालन गरेको छ ।

कोभिड-१९ विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार लकडाउनलाई पूर्ण रूपले कार्यान्वयन गर्न सेनाका ७ हजार ४ सय ८६, प्रहरीका ४२ हजार १२, सशस्त्र प्रहरीका ३१ हजार १ सय ५५ र राष्ट्रिय अनुसन्धानका १ हजार ९ सय ९७ सुरक्षाकर्मी परिचालित छन् ।

नेपालको अन्तर्राष्ट्रिय सीमानाकाबाट आवागमनमा कडाइका साथ निगरानी गर्न लागि सशस्त्र प्रहरी बलका ६ सय ५० चेकपोस्ट रहेकामा हाल बढाएर १ हजार २ सय १३ कायम गरिएको छ । त्यहाँ २२ हजार ६ सय १६ सुरक्षाकर्मी तैनाथ गरिएको सीसीएमसीले जनाएको छ ।

यस्तै, नेपाल-भारत सीमापारि क्वारेन्टाइनमा रहेका नेपालीको विवरण सिमाना जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत संकलन भइरहेको सीसीएमसीले जनाएको छ ।

सीसीएमसीका अनुसार नेपाल-भारत सीमा नाकामा नेपालतर्फ १ हजार ७६ जना भारतीय र भारततर्फ २ हजार २० नेपाली नागरिक क्वारेन्टाइनमा छन् । तीमध्ये रुपन्देही सीमा नाकाबाट २ सय ९६ र कपिलवस्तु सीमा नाकाबाट ३५ जना गरी भारतको क्वारेन्टिनमा रहेका ३ सय ३१ जना नेपालीलाई नेपालतर्फका क्वारेन्टाइनमा परीक्षणका लागि ल्याएर राखिएको छ । रुपन्देही सीमा नाकाबाट २ सय ५२ जना र कपिलवस्तु सीमा नाकाबाट ३६ जना गरी १ सय ३८ जना नेपालको क्वारेन्टाइनमा रहेका भारतीयलाई भारततर्फ पठाइएको छ ।

हालसम्म लकडाउन उल्लंघन गर्ने ९९ हजार ४ सय १९ सर्वसाधारण र ४३ हजार ७ सय ६१ सवारीसाधन प्रहरी नियन्त्रणमा लिइएको सीसीएमसीले जनाएको छ । सर्वसाधारण ९९ हजार ४ सय १४ जना र सवारीसाधन ३५ हजार ४ सय २३ वटा छाडिएको छ ।

यस्तै, हालसम्म मुलुकभर ३९ हजार ८ सय २४ क्वारेन्टाइन शय्या र ३० हजार आइसोलेसन शय्या व्यवस्थापन भएको सीसीएमसीले जनाएको छ । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १८ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्