बामदेवलाई प्रधानमन्त्री प्रस्ताव : अब नेकपा विवाद के होला ?



काठमाडौँ, बैशाख १९
दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद बामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावसम्म आइपुग्दा नेकपाभित्र उथपलपुथल देखिएको छ । विकसित यी घटनाक्रमलाई राजनीतिक विश्लेषकले पनि नजर लगाएका छन् ।

अध्यादेशदेखि बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्तावसम्म आउँदा नेकपाभित्र जेजस्ता घटनाक्रम विकसित भए यसले नेकपामा शक्ति संघर्ष बढ्ला या कम होला ? वा नेकपाको विवाद अब कहाँ जाला ? र, वामदेवलाई प्रधानमन्त्री बन्न सहज छ त ? यी प्रश्न हामीले राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेल र श्याम श्रेष्ठलाई सोधेका छौं । विश्लेषकद्वय पोखरेल र श्रेष्ठकको विचार उनीहरुकै शब्दमा :

राम्रो मनसायले बामदेवलाई प्रस्ताव राखिएको होइन : पोखरेल
अध्यादेश जारी भयो, प्रधानमन्त्री आफैंले ७२ घण्टा भित्रै फिर्ता लिनु भयो । जोकोहीलाई अहिले जुन कुरा अस्तित्वमा छैन, त्यसका लागि केको विवाद भन्ने लाग्न पनि सक्छ । तर, यथार्थ यत्ति मात्रै होइन । केपी ओलीले प्रधानमन्त्री भए देखिनै सत्ता सञ्चालन मनमौजी पारामा गर्नुभयो । नेतृत्वमा रहेकाहरुलाई कहिले कसलाई उचाल्दै, कहिले पछार्दै अगाडि बढ्नु भयो । त्यसले क्रमशः जम्मा भएको असन्तोष अहिले भड्कियो । अध्यादेश प्रकरणले त्यो असन्तोष भड्किने मौका पाएको मात्रै हो ।

प्रधानमन्त्रीले पार्टीमा अहिलेसम्म अन्य नेताहरुलाई जसरी बेवास्ता गर्नुभयो, यो छोड्नुपर्छ । पार्टीका आधिकारिक कमिटीमा मन माझामाझ गर्नुपर्छ । कम्युनिष्ट कार्यशैलीमा आलोचना–आत्मालोचना हुन्छ । सहकर्मीबीच आफूले गरेका काम ठीक–बेठीक भनेर समीक्षा गर्ने हो । मबाट यस्तो भयो, यस्तो नहुनुपर्ने हो भनेर बैठकमै टुङ्गो लगाउनु पर्ने हो । एकता प्रक्रिया नसकिएको नेकपामा त जोकोही झन् बढि पद्धतिसंगत हिँड्नुपर्ने हो ।

तर, एमाले हुँदा जे विवाद थियो पार्टी एकता हुँदा सर्लक्क नेकपामा आयो । पूर्वमाओवादीमा पनि थियो, अन्तरविरोध । अन्तरविरोधसहित दुवै पार्टी एकीकरणमा आए । अहिलेको अबस्था हेर्दा हिजोको एमालेको अन्तरविरोध चर्केर यहाँसम्म आए जस्तो देखिन्छ । सामान्यता एमाले–एमाले एकातिर, माओवादी–माओवादी अर्कोतिर हुनु पर्ने हो । किनभने उनीहरु आफ्ना–आफ्ना संस्था र कार्यशैली लिएर आएका थिए । तर, अहिले त्यस्तो छैन । हिजो एकीकरण हुँदा एमालेको भागमा सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमा सदस्य धेरै थियो । अहिले देखिदैन । किनकि उहाँ (प्रधानमन्त्री) को कार्यशैली सफल गुट सञ्चालकको भए पनि सफल पार्टी सञ्चालकको भएन ।

उहाँको काम गर्ने शैलीमा दम्भ र छल देखिन्छ । हिजोको सचिवालय बैठकमा (सञ्चारमाध्यममा आएअनुसार) जसरी सुरुमा मेरो केही छैन, तपाईंहरु आफ्ना कुरा राख्नुस् भन्नु भयो । अर्का अध्यक्षले कुरा राख्दै गर्दा अब मेरा कुरा राख्छु भन्नु दम्भ हो । उहाँ (प्रधानमन्त्री) मा देखिने छलको प्रकृति के हो भने अरुले राजीनामा मागेपछि उसो भए बामदेवजीलाई प्रधानमन्त्री बनाउँ भन्नुभयो । बामदेवजीलाई प्रधानमन्त्री, माधवजीलाई पार्टीको तेस्रो अध्यक्ष बनाउँ भन्नुको मतलब यसैको लागि त तिमीहरुले गर्न खोजेको होला नि भन्ने ढंगले उहाँ प्रस्तुत हुनु भयो ।

त्यहाँ प्रधानमन्त्रीले राम्रो मनसायले बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको होइन । त्यहाँनिर पनि छल देखिन्छ । जुन कुरा हुँदैन भन्ने उहाँलाई थाहा छ, अनि त्यो प्रस्ताव गर्नुभएको हो । एकढंगले भन्दा त्यो व्यङ्ग्य हो । बामदेवले पनि बुझ्नु पर्छ, प्रधानमन्त्रीले राखेको प्रस्ताव समाधान निकाल्ने सोचबाट राखिएको होइन भनेर ।

अहिले हुनुपर्ने भनेको आलोचना–आत्मालोचना गरेर पार्टी कमिटीले निर्णय गर्ने हो । सामान्यता नेकपामा एक व्यक्ति, एक पद भएन भन्ने गुनासो छ । त्यो खाली प्रधानमन्त्री र अध्यक्षको कुरा मात्रै होइन । मुख्यमन्त्री पनि उही छ, पार्टीको इन्चार्ज पनि उही छ । अर्को कामबिहीन बनेको छ । त्यस्ता कति आन्तरिक कुरा छन् । यसको समाधानको एउटै उपाए एक व्यक्ति, एक पदमा जाने हो । यसअघि जे जति भए पार्टीलाई विश्वासमा नलिई काम गरेको हुँदा यहाँ आइपुग्यो । यसले जनतामा र पार्टी कार्यकर्तामा नराम्रो छवि बन्यो । यो सबै कार्यशैलीको समस्या हो ।

अब मध्यम तहका नेताको भूमिका महत्वपूर्ण हुन्छ । दुवै पद छोड्नुस् भन्यो एउटाले, अर्कोले म छोड्दै छोड्दिन बरु संसदमा फेस गर्छु भन्नु अति हो । कहीँ न कहीँ ‘बार्गेनिङ’ को लागि हो । पहिला नै ‘कम्प्रमाइज फर्मुला’ लगेर गयो भने ‘बार्गेनिङ’ मा कमजोर पर्न सकिन्छ भन्ने पनि होला । त्यसकारण अब मध्यम तहका नेताहरुले विवाद सुल्झाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । उनीहरुले पहल लिने बेला भएको छ ।

अहिले झट्ट हेर्दा कता–कता यो हिजोको एमाले भित्रको विवाद हो कि भन्ने ढंगले बाहिर आएको छ । कतिपय माओवादी नेताहरुका यसमा हामी पर्न हुँदैन भन्ने ढंगका कुरा आइराखेको देखिन्छ । अहिले पूर्वएमाले र पूर्वमाओवादीले आ–आफ्नो धार समाउनु पर्छ भन्ने कुरा नीतिसंगत छैन । पूर्वएमाले मिल्नुपर्छ भनेर माधव नेपालसँग गरिएको ‘एप्रोच’ या एमालेको विवादमा हामी पर्न हुँदैन भन्ने माओवादीको सोच समाधानकारी सोच होइन ।

अब त न हिजोको एमाले छ न माओवादी । अहिले नेकपा छ । यथार्थलाई बुझेर अगाडि बढ्नु पर्छ । त्यसको लागि नेकपामा रहेका दोस्रो तहका यूवा नेताको काँधमा जिम्मा छ । उहाँहरु अग्रसर हुनुपर्छ ।

दोस्रो तहका नेता बुद्धिमान छन्, पार्टी जोगाउन ती अघि सर्नुपर्छ : श्रेष्ठ

पछिल्ला घटनाक्रमले नेकपा कम्युनिस्ट पार्टीजस्तो देखिन छाड्यो । यस्तो हुन हुने थिएन । ठूलो विरासत बोकेको पार्टी थियो, नेकपा । त्यो विरासतलाई ध्वस्त पार्दै आफ्नो पार्टी आफैं फोर्ने, अर्काको पार्टी फोर्न लाग्ने, त्यो पनि राष्ट्रिय संकटको बेला ! अरु पार्टीका सांसदहरु ल्याउने र होटलमा थुन्ने गतिविधिमा गयो ।

यो गतिविधिले पार्टीमा द्वन्द्व बढायो । नत्र पार्टीमा यतिखेर केपी शर्मा ओलीलाई काम गर्न केहीले छेकेको थिएन । एकपछि अर्को गरी देश र जनताको हित गर्ने काम गर्दै गएको भए ‘अनच्यालेन्जेवल लिडरसिप’को रुपमा विकसित हुने थिए । त्यो मौका थियो । तर, गुम्यो ।

त्यो मौका अरु कसैले गुमाइदिएको होइन, उहाँ स्वयं (प्रधानमन्त्री) आफैंले गुमाएको हो । यो गुमाएपछि पार्टीमा उहाँको नैतिक, सांस्कृतिक कद घट्यो । त्यो घटेपछि हिजो सिंहले पनि चुनौती नदिएको, अहिले मुसाले पनि दिन्छ नि ! यसकारण अब नेकपा भित्रको द्वन्द्व घटेर जाने देखिदैंन, बढेर जान्छ । किनभने प्रधानमन्त्रीले अझै पनि आफ्नो दिमाग खोल्नु भएको देखिँदैन । उहाँ चुनौतीको भाषा बोल्दै हुनुहुन्छ । अहंकारको भाषा बोल्दै हुनुहुन्छ । यस्तो बेलामा अंहकारको भाषाले समस्याको समाधान गर्दैन ।

तर, अब दोस्रो तहका नेताहरुले बुद्धि पुर्‍याए भने द्वन्द्व सुलहको बाटोमा जाला । हैन नेताहरुको अहिलेकै छाँटकाँटले गयो भने पार्टी फुटतिर जाला । अहिले नेताहरुले जसरी पोजिसन कसेका छन्, त्यसले ल्याउने भनेको फुट नै हो । सरकार, संसद भंग भयो भने यसले अराजकतिर नै लैजाने हो ।

नेकपामा शीर्ष नेताभन्दा दोस्रो तहका नेता ज्यादा बुद्धिमान छन् । पूर्वएमालेको महाधिवेशका बेला माधव नेपाल र केपी ओली फुट्न लागेका थिए । जोगाएको दोस्रो तहका नेता, कार्यकर्ताले हो । अहिले पनि उनीहरु अघि सरेर यसलाई जोगाउन सके भने जोगिन्छ ।

नेताहरुले आफ्नो कुरा राख्ने भनेको या त केन्द्रीय कमिटी बैठकमा हो या त स्थायी कमिटीको बैठकमा हो । प्रधानमन्त्री त्यो बैठकमा जानै मानिरहेका छैनन् । बैठकबाट महासंकट आइलाग्छ भन्नेजस्तो विश्लेषण छ । त्यहाँ म अल्पमतमा छु, सिध्याई हाल्छन् भन्नेखालको बुझाई छ । त्यहाँ दिमाग भएका नेताहरु पनि छन्, उनीहरु पार्टी फुटाउन चाँहदैनन् भन्ने बुझाई छैन ।

दोस्रो तहका नेताहरु भएको स्थायी कमिटी, केन्द्रीय कमिटीमा जान प्रधानमन्त्री भयभित देखिन्छन् । त्यहाँ नगएपछि छलफल हुने भनेको सचिवालयमा हो । सचिवालयमा उहाँ अल्पमतमा हुनुहुन्छ । त्यहीँ अनेक फन्डा ल्याउँछन् । बामदेव गौतमले कसरी पत्याउँछन् र ? प्रतिनिधिसभाको सदस्य नभएको मान्छेलाई प्रधानमन्त्री पद प्रस्ताव गर्दा साँच्ची नै दिएको हो भनेर बामदेव गौतमले पत्याउँलान् ? यति लामो समय राजनीति गरेको मान्छे हो गौतम । त्यति विश्लेषण गर्न सक्ने मान्छे हुन् बामदेव ।

किनकि राष्ट्रियसभाको सदस्य प्रधानमन्त्री हुने प्रावधान अहिलेको संविधानमा छैन । त्यसको लागि संविधान संशोधन हुनुपर्‍यो । संविधान संशोधनका लागि विपक्षी कोही न कोहीले समर्थन गर्नुपर्‍यो । एक्लै दुईतिहाइ पुग्दैन । विपक्षी कोही अहिले यो सरकारलाई सहयोग गर्ने पक्षमा छ ? त्यस्तो देखिदैंन । त्यसकारण प्रधानमन्त्रीले अर्को गुटमा फुट ल्याउन ‘कार्ड’ फालेका मात्रै हुन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News