‘परीक्षण नबढाए लकडाउनको अर्थ छैन’


 


काठमाडौँ, बैशाख २२
भारतले लकडाउनको अवधि १५ दिन थपेसँगै नेपालमा पनि अहिलेकै जसरी लकडाउन थपिने वा स्वरूप परिवर्तन गरेर थप्ने भन्ने प्रश्न उब्जिएको छ ।

ह्याम्स अस्पतालमा कार्यरत डाक्टर किरण पाण्डे, संक्रामक रोग विशेषज्ञ अनुप सुवेदी, डाक्टर भगवान कोइराला तथा गणितज्ञ विशेष खनालले जारी महामारी र लकडाउनका सम्बन्धमा केन्द्रित रहेर अनुसन्धान प्रतिवेदन (प्रि–प्रिन्ट) तयार पारेका छन् ।

‘हामीले गरेको अंकगणितीय जोड–घटाउलाई मान्ने हो भने अरू केही कार्य नगरी एक महिना लकडाउन गर्ने हो भने अस्पतालहरूमा आउने चापलाई ३६ दिन पर धकेल्न सकिने रहेछ,’ जर्नल सहलेखन गरेका डा. सुवेदीले भने, ‘यस्तै दुई महिना लकडाउन गर्ने हो भने ७४ दिन पछि धकेल्न सकिने रहेछ । तर वार्षिक रूपमा हिसाब गर्दा मृत्यु हुनेको संख्यामा कुनै कमी आउने देखिँदैन ।’

उनका अनुसार लकडाउनका साथै सो समयमा भेटिएका संक्रमितको समुचित ढंगले कन्ट्रयाक ट्रेसिङ तथा धेरैभन्दा धेरै परीक्षण गर्न सकियो भनेचाहिँ त्यसले दीर्घकालीन रूपमै धेरै फरक पार्छ । ‘हामीकहाँ अहिले लकडाउनको अवधिलाई सदुपयोग गरेर जुन रूपमा परीक्षणहरू हुनुपथ्र्यो, त्यो भएको छैन । त्यसैले लकडाउन मात्रैले हामीलाई धेरै फाइदा गर्नेवाला छैन,’ उनले भने, ‘यसरी लकडाउन मात्रै गर्ने र परीक्षणमा जोड नदिने हो भने त सबै खोलिदिए हुन्छ ।’

उनको भनाइमा अब संक्रमण नदेखिएका स्थानहरूमा आंशिक लकडाउन मात्रै गरे पनि पुग्छ । तर सामाजिक दूरी भने वर्ष दिनसम्म नै कायम राख्न निकै जरुरी देखिन्छ । ‘लकडाउन मात्रै गर्दा धेरै स्थानमा असर पर्ने देखिएको छ । अब सबैतिर लकडाउन नगरेर संक्रमण भएको स्थानलाई मात्र पूर्ण लकडाउनमा राख्दा उचित हुन्छ,’ उनले भने, ‘अहिले पनि समय छ, सबैतिर लकडाउन भएको अवस्थामा सम्भावित तथा विदेशबाट आएका सबैको परीक्षण गरेर निर्क्यौल गरे अझ राम्रो हुन्छ ।’

जर्नलका मुख्य लेखक डा. किरण पाण्डेका अनुसार नेपालले लकडाउनलाई ठाउँविशेषका आधारमा खुकुलो पार्दै परीक्षण, ट्रेसिङ, क्वारेन्टाइनको दायरालाई भने तीन गुणा बढाउन आवश्यक देखिन्छ । उनले भियतनामको उदाहरण दिँदै भने, ‘त्यहाँ हामीकहाँभन्दा धेरै संक्रमित देखिए तर त्यो नियन्त्रणभन्दा बाहिर गएको छैन किनभने उनीहरूले ट्रेसिङ, परीक्षण र क्वारेन्टाइनलाई राम्रोसँग लागू गरे । हामीले अफ्रिकाको घानालाई पनि उदाहरणका रूपमा लिन सक्छौं । त्यहाँ पनि परीक्षणलगायतका कार्य राम्रोसँग भइरहेका छन् ।’

उनले भौगोलिकताका आधारमा केही स्थानहरूमा लकडाउन खुकुलो पारेर जीविकोपार्जनका माध्यम सुचारु गर्न ठीक हुने तर्क राखे । ‘काठमाडौं नै खोल्ने हो भने पनि पहिलो प्राथमिकता मार्जिनलाइज समूहको रोजीरोटीमा असर पर्ने सेवाहरू खोलेर गर्न सकिन्छ,’ उनले भने, ‘तर धेरै मानिस भीड हुने सबै क्षेत्र बन्द गर्नुपर्छ । जस्तै– मन्दिर, पार्क, होटल, सिनेमा घर । त्यस्तै परीक्षण गर्दा कसैलाई देखिए, त्यो क्षेत्रको घेरा तोकेर बन्द गर्दा बढी सहज हुन्छ । यहाँ त्यो मोडल परीक्षण गरेर सफल भए अन्यत्र लागू गरे पनि हुन्छ ।’

उनका अनुसार अब खेतीपातीलगायत मानिसको जीविकोपार्जनसँग जोडिएका विषयमा भने केही खुकुलोपन ल्याउने बेला भइसकेको छ । यस्तै अर्को प्रि–प्रिन्टमा प्रकाशित लेखका अनुसार बिनाकुनै पूर्वतयारी लकडाउन पूर्ण रूपमा खुकुलो बनाउँदा संक्रमित हुनेको संख्यामा ह्वात्तै बढोत्तरी हुने सम्भावना धेरै हुन्छ । यस्तै लकडाउन खुला गर्नुपूर्व संक्रमण फैलन सक्ने सम्भावित स्थानहरूको पहिचान गरी त्यसको निर्मलीकरणको व्यवस्था गरेमा पनि संक्रमणको दरलाई नियन्त्रणबाहिर जान रोक्न सकिन्छ ।

यस्तै बेलायतमा लकडाउनले सकारात्मक पारेको प्रभावबारे प्रकाशित गरिएको अर्को एक अनुसन्धानात्मक लेखमा भने लकडाउनलाई अब कसरी खुकुलो पार्दै लैजाने भन्ने योजना बनाउनुपर्नेमा जोड दिइएको छ । लेखमा भनिएको छ, लकडाउनले जति राम्रो काम गर्नुपर्ने, त्यो गरिसकेको र अब अर्थतन्त्रलाई जोगाउनका लागि लकडाउन खुकुलो पार्ने योजनामा सोच्ने बेला भएको छ ।

अर्को प्रि–प्रिन्ट पेपरले भने लकडाउन खुला गरे पनि संक्रमणको दरलाई नियन्त्रणमा राख्न घरबाट बाहिर निस्कने व्यक्तिले सामाजिक दूरीका साथै मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ । यस्तै बेलायती अनुसन्धानकर्ताहरूले प्रकाशित गरेको अर्को लेखमा भने एकैपटक लकडाउन खुकुलो बनाउनुभन्दा दिनमा २ देखि ४ घण्टाका लागि लकडाउन केही स्थानमा खुकुलो बनाउँदै लगेर त्यसको परिणामको विश्लेषण गर्नुपर्ने तर्क अघि सारेका छन् । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २२ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्