सगरमाथामा अत्याधुनिक ‘फाइभ जी’ नेटवर्क जडान


 



काठमाडौं, वैशाख २२
चीनले सर्वोच्च शिखर सगरमाथामा अत्याधुनिक ‘फाइभ जी’ नेटवर्क जडान गरेको छ । सगरमाथाको ६ हजार ५ सय मिटर उचाइमा फाइभ जी जडान गरेको हो ।

हिमाली जनावर याकलाई ८ टनको भौतिक सामग्रीको भारी ढुवानी गराउँदै सगरमाथामा पुर्याइएको थियो। यससँगै संसारकै सबैभन्दा अग्लो स्थानको एन्टेनाको रुपमा चिनिएको आयोजक चाइना मोबाइल हङकङ र हुआवेले बताएका छन् ।

चाइना मोबाइल हङकङले हालै फेसबुकमा सगरमाथाको ६ हजार ५ सय मिटर उचाइ सहित अरु धेरै स्थानमा फाइभ जी स्टेशन खडा गर्न सफल भएको जानकारी दिएको छ । सगरमाथामा फाइभ जी जडानसँगै पर्वतारोहीहरुसँग सम्पर्क गर्न सहज हुने अपेक्षा गरिएको छ ।

तर फाइभ जीको उक्त स्टेशन सगरमाथाको चिनियाँ पाटोतर्फ जडान गरिएको हो । जहाँबाट सगरमाथा आरोहण गर्न पनि सहज ठानिन्छ । सिएमएचकेले यही महिनाको सुरुमा फाइभ जी नेटवर्क सगरमाथामा विस्तार गर्ने घोषणा गरिसकेको थियो । 

सञ्चारको क्षेत्रमा चीनले विकास गरेको फाइभ जी प्रविधि हालसम्म सबैभन्दा द्रुत र अत्याधुनिक मानिएको छ । चीनको दक्षिणी सीमाले नेपालको उत्तरी सीमालाई १ हजार ४ सय १४ किलोमिटरको दूरीले जोडेको छ ।

प्रकाशित मिति: २२ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्