Deshko News
१४ मंसिर २०८०, बिहिबार

लिपुलेकमा १२ वर्षदेखि सडक बन्दै


 


काठमाडाैँ। भारतले सन् १९६२ को चीन–भारत लडाइँपछि उक्त क्षेत्रमा रणनीतिक हिसाबले सैन्य उपस्थिति बढाएको व्यास गाउँपालिका–५ का जयसिंह धामीले बताए । ‘सुरुमा सुरक्षा संवेदनशीलता हेरेर भारतले गुन्जी कालापानीमा सानो सुरक्षा उपस्थिति जनायो, पछिल्लो समय चीनसितको व्यापारलाई महत्त्व दिएर लिपुलेक हत्याउँदै आयो,’ उनले भने ।

भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि चीनसित सुरक्षा रणनीति, व्यापार र धार्मिक हिसाबले उपयुक्त नाका लिपुलेक मानेर यहाँको सडक निर्माण तीव्र गरेको व्यासका बासिन्दा बताउँछन् ।
भारतको पिथौरागढ जिल्लाको धार्चुलामा पर्ने तावाघाटबाट सन् १९९९ मा सडक निर्माण कार्य सुरु गरिएको थियो । सन् २००८ मा भने सीमा सडक संगठनलाई यो सडक निर्माणको जिम्मा दिइएको थियो ।

तीन वर्षअघि नै सडक बनाइसक्ने लक्ष्य भए पनि गर्भाधारभन्दा माथि बुँदीसम्म कडा चट्टानी भूगोलका कारण केही वर्ष ढिलाइ भएको हो । सन् २०१५ मा भारतीय प्रधानमन्त्री मोदीले चीन भ्रमणमा लिपुलेकलाई व्यापार नाकाका रूपमा विकास गर्ने सहमति गरेपछि यो सडक निर्माण झन् तीव्र बनाएको स्थानीयले बताए ।

उनीहरूका अनुसार लिपुलेक जोड्ने सडकलाई तीव्रता दिन भारतीय पक्षले दुई वर्षअघिदेखि तम्बाकु, घाटीबगडलगायत नेपाली भूभाग हुँदै डोजर ओहोरदोहोर र महाकालीमा काठेपुल बनाएर मजदुरलाई आवतजावत गराउँदै आएको थियो । यसमा नेपाली पक्षको अनुमति लिइएको थिएन । भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत गतिविधि गरिरहेको यो क्षेत्र सदरमुकामबाट ५० किलोमिटर दूरीमा छ । व्यास क्षेत्रमा नेपालतिर वर्षका ६ महिना मानवविहीन हुन्छ । त्यसको फाइदा उठाउँदै छाङरुभन्दा तल्लो क्षेत्रमा भारतले यस्ता गतिविधि गर्दै आएको दार्चुला बहुमुखी क्याम्पसका प्राध्यापक नरेन्द्रराज अवस्थीले बताए । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २८ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्