२४ घन्टामै यति धेरै कोरोना संक्रमित ! अझै २२८ जनामाथि आशंका, रिपोर्ट आउन बाँकी


 



काठमाडाैं, वैशाख ३१
नेपालमा कोरोना संक्रमितको संख्या दुई सय १७ पुगेको छ । मंगलबार मात्रै ८३ नयाँ संक्रमित देखिएका छन् । २४ घन्टामै यति ठूलो संख्यामा संक्रमित देखिएको पहिलोपटक हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार पर्सामा ५७, रूपन्देहीमा नौ, कपिलवस्तु आठ, महोत्तरी, धनुषा र भक्तपुरमा दुई–दुई तथा बारा, काठमाडौं र सर्लाहीमा एक–एक नयाँ संक्रमित देखिएका छन् । अहिलेसम्म संक्रमण देखिएका दुई सय १७ मा एक सय ६७ पुरुष र ५० महिला छन् ।

उनीहरूमध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनीहरूलाई अधिकतम तातोपानी र झोलिलो खानेकुरा खान चिकित्सकहरूले सुझाब दिएका छन् ।

कोरोनाको आशंकामा काठमाडौं उपत्यकाभित्र एकजना र बाहिर दुई सय २७ जना अस्पतालको आइसोलेसनमा छन् । त्यस्तै देशभर १२ हजार सात सय ८५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको आशंकामा पछिल्लो २४ घन्टामा दुई हजार दुई सय ३६ जनाको नमुना परीक्षण भएको छ । अहिलेसम्म पिसिआर प्रविधिबाट १८ हजार नौ सय ६४ र आरडिटी विधिमार्फत ५९ हजार ६ सय २७ गरी ७८ हजार पाँच सय ९१ जनाको कोरोना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले कोरोना परीक्षण गर्ने एक लाख पिसिआर किट मौज्दात छ । स्विट्जरल्यान्ड सरकारले दिएको ६० हजार र सोमबार चीन सरकारले दिएको ४० हजार किट मौज्दात छन् ।

करिब १० हजारको संख्यामा अन्य दाताहरूले सहयोग गरेका छन् । यससँगै सेनाले ३० हजार खरिद गर्दै छ भने स्वास्थ्य सेवा विभागले ३० हजार किट खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ ।

मन्त्रालयका अनुसार देशभरका अस्पतालमा नौ सय नौ आइसियू र पाँच सय ३९ भेन्टिलेटर छन् । तीमध्ये तीन सय ४५ शय्या आइसियू र एक सय ४५ भेन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि तयार गरिएका छन् । बाँकी नियमित बिरामीको उपचारमा प्रयोग गरिनेछन् ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोलाले संक्रमितमा देखिएको लक्षणका आधारमा कोरोनाको उपचार हुने बताए ।

आइसोलेसनमा रहँदा बढी तनाव लिएर मानसिक समस्यासमेत हुन सक्ने भन्दै संक्रमित भर्ना गरेका अस्पतालले मनोपरामर्श सेवा पनि दिँदै आएका छन् । चिकित्सकहरूका अनुसार एक हप्तापछि गम्भीर बिरामी देखिनेछन् । नयाँ पत्रिका

प्रकाशित मिति: ३१ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्