प्रचण्डको दाबी- गणतन्त्रका उपलब्धिविरुद्ध नकारात्मक प्रचार भइरहेको छ
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा गणतन्त्रका उपलब्धिविरुद्ध नकारात्मक प्रचार भइरहेको दाबी गरेका छन् ।
पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बिहीबार चम्पादेवीमा आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै प्रचण्डले गणतन्त्र र परिवर्तनका उपलब्धिविरुद्ध अपमानित र अवमूल्यन गर्ने प्रयास भइरहेको बताएका हुन् ।
उक्त हमलाविरुद्ध नयाँ अभियान सञ्चालन गर्ने संकल्प गर्नुपर्ने बताउँदै उनले भने- ‘नेपालमा गणतन्त्र भएपछि विकसित भएका थुपै सकारात्मक कुराहरू माथि अत्यन्तै नकारात्मक ढङ्गले झुटप्रचारको प्रहार गरिएको छ । भौतिक पूर्वाधारको क्षेत्रमा भएको अभूतपूर्व विकासलाई अपमानित गरिएको छ । शिक्षामा र स्वास्थ्यमा भएका प्रगतिलाई अपमानित र अवमूल्यन गरिँदै छ ।’
उनले पुष्पलाल श्रेष्ठले सामन्तवाद र साम्राज्यवादविरुद्ध वैचारिक तथा राजनीतिक आधार निर्माणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा स्थापित गर्न उनको भूमिका ऐतिहासिक रहेको बताए।
प्रचण्डले नेपालमा कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गरी त्यसको वैचारिक र राजनीतिक आधार निर्माण गर्ने कठिन जिम्मेवारी पुष्पलालले पूरा गरेको भन्दै अहिले पनि उनका विचार सान्दर्भिक रहेको धारणा व्यक्त गरे।
प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार







