कस्तो हुन्छ अब लकडाउनको मोडालिटी ? सरकार आफै अन्योलमा


 



काठमाडौं, जेठ २८
असार १ गतेबाट लकडाउनको मोडालिटी कस्तो हुन्छ भन्ने विषय अहिले चासोको साथ हेरिएको छ । सरकारले थपेको लकडाउनको अवधी यही जेठ ३२ गते सकिदैछ । सरकारले गत ११ चैत २०७६ देखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन जारी गरेको थियो ।

तर सरकार भने साढे दुई महिनाभन्दा बढी समयदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा अलमलमा परेको छ । लकडाउनमा अत्यावश्यकबाहेकका सवारीसाधन चलाउन र आवतजावतमा रोक लगाउँदै आएको छ ।

एकातर्फ लकडाउन खुकुलो बनाउन दिनदिनै जनदबाब बढिरहेको छ भने अर्कातर्फ दिनहुँ कोरोना भाइरसका संक्रमित थपिने क्रम बढ्दो छ । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।

सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्न ढिला गर्दा काठमाडौं उपत्यकालगायतका सहरमा व्यवसायीले एकतर्फी रूपमा पसल खोल्न थालेका छन् । सडकमा सवारीको चापसमेत बढ्न थालेको छ ।

मन्त्रिपरिषद् बैठकले लकडाउन स्वरूप परिवर्तनको कार्ययोजना पेस गर्न समितिलाई जिम्मेवारी प्रदान गरेको छ । समितिको यसअघिको बैठकले तहगत रूपमा लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय गरिसकेको छ । पुनः मन्त्रिपरिषद् बैठकले कार्ययोजना पेस गर्न भनेपछि भने समिति पनि अलमलमा परेको पाइएको छ ।
मन्त्रिपरिषद् बैठकले लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना पेस गर्न जिम्मा दिएपछि समितिको लगातार बैठक बस्दै आएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैं पनि लकडाउनको स्वरूप परिवर्तन गर्ने विषयमा विभिन्न विज्ञ तथा सरोकारवालासँग छलफल तथा परामर्श गर्दै आएका छन् । तर, अहिलेसम्म लकडाउनको स्वरूप कस्तो बनाउने भन्नेमा भने सरकार पुग्न सकेको छैन ।

प्रकाशित मिति: २८ जेष्ठ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्