मंगलबारदेखि डिभी आवेदन खुला


 


dv-lottery

काठमाडौं, १२ असोज । यसवर्षको अमेरिकी डाइभर्सिटी भिसा (डिभी) असोज १८ गते मंगलबारदेखि खुला हुने भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूताबासले बुधबार एक सूचना जारी गर्दै अमेरिकाले सन् २०१८ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन १८ असोज (४ अक्टोबर) बिहान ९ः३० बजेदेखि खुला गर्ने जनाएको छ ।

सूचनामा डिभी भर्ने मिति एक महिना हुने र यसको अन्तिम म्याद कातिक २२ गत हुने उल्लेख छ ।

यसैबीच अमेरिकी दूताबासले डिभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न आग्रह समेत गरेको छ । डिभी चिट्ठामा प्रवेश गर्न शुल्क तिर्नु नपर्ने सूचनामा उल्लेख छ । www.dvlottery.state.gov  मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा आवदेन फारम (ई–डिभी आवेदन फारम वा DS-5501 भर्न सकिनेछ ।

दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ । ‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला’, दूतावासले भनेको छ, ‘सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ आफै जिम्मेवार रहनुहुनेछ ।’

अघिल्लो वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग नगर्न भनिएको छ । ‘अघिल्लो वर्ष डिभी भर्दा प्रयोग गरेको फोटो प्रयोग गरेमा सो आवेदन रद्द हुनेछ’, दूतावासको विज्ञप्तिमा भनिएको छ ।

२०१८ को डिभी नतिजा आगामी वैशाख १९ गते मंगलबार आउने दूतावासले जनाएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्