राष्ट्र बैंकको ढुकुटीमा ढुसी, अढाई करोड रुपैयाँ स्वाहा


 



काठमाडौं, साउन १६
नेपाल राष्ट्र बैंकको ढुकुटीमा रहेकोमध्ये दुई लाख डलरमा स्वाहा हुनेगरी ढुसी लागेको छ । पचास दरको चार हजार थान अमेरिकी डलर एउटै डल्लो भएर ढुसी र छिँडीको ओसले बिग्रेको छ ।

यसबाट प्रचलित विनिमयदर अनुसार दुई करोड चालिस लाख रुपैयाँ सरकारको कोषमा चुना लागेको छ । त्यसैगरी, बैंकको बालुवाटारस्थित छिँडीको ढुकुटीमा रहेका अन्य दरका डलर तथा विदेशी मुद्रा पनि ओसले बिगारेपछि त्यसको समेत पूरा भुक्तानी नआउने भएको छ ।

त्यसरी आंशिक क्षति भएका डलरलगायतका विदेशी मुद्रा झण्डै पचास लाख रुपैयाँ बराबर रहेको स्रोतको दाबी छ । गत कात्तिकदेखि नियमानुसार सिङ्गापुरस्थित सीआईएम बैंकमा बैंकिङ्ग कार्यालयले विदेशी मुद्रा नपठाई थन्काएपछि ढुसी परेको हो ।

कार्यकारी निर्देशक नरेश शाक्य र निर्देशक निभा श्रेष्ठको लहडबाजीमा फागुन मसान्तमा रहेको झण्डै ४५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सीआईएम बैंकमा जम्मा नगरेपछि अहिले ढुसी लागेको बताइन्छ ।

यसबीच बैंकको विभिन्न शाखा कार्यालयबाट प्राप्त रकमपछि मौज्दात बढेर झण्डै ६० अर्ब रुपैयाँको हाराहारीमा पुगेको थियो । ढुसीले नष्ट भएको मात्र होइन बेलैमा उक्त रकम सिङ्गापुरमा जम्मा गरेको भए उक्त रकममा आउने १० करोड रुपैयाँभन्दा बढीको ब्याजसमेत शाक्य र श्रेष्ठको कारण बैंकले अनाहकमा गुमाएको छ । जबकि नेपाल राष्ट्र बैंकको सम्पूर्ण आम्दानी कानुनतः नेपाल सरकारकै आम्दानी हो ।

यसअघि पटक पटक जनआस्था अनलाइनले व्यर्थ थुपारिएको अर्बौं रुपैयाँ बराबरको डलरको करोडौं ब्याज आम्दानी गुमेको र वर्षामा ढुसी पर्नसक्नेतर्फ सचेत गराउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो । तर, बैंक नेतृत्वले सकारात्मक सुझावलाई पनि एउटा कानले सुनेर अर्को कानले उडाइदिएको परिणाम यतिखेर सरकारको आम्दानीमा थप तीन करोड रुपैयाँ स्वाहा भएको छ ।

नयाँ कार्यविधि नबनेको र सिल्क एअरको रातीको उडानको कारण सिङ्गापुरको सीआईएम बैंकमा जम्मा गर्न डलर नपठाइएको शाक्य र श्रेष्ठको अडान पनि यतिखेर बनावटी प्रमाणित भएको छ । जनआस्था साप्ताहिक

प्रकाशित मिति: १६ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्