खाद्यवस्तुको मूल्य बढ्यो
काठमाडौं, भदौ १
लकडाउन खुलेपछि केही उपभोग्य वस्तुको मूल्य बढेको छ। एक महिनाको अवधिमा तोरीको तेल लिटरमा १२ रुपैयाँ बढेको छ।
सनफ्लवारको तेलको मूल्य लिटरमा दुई रुपैयाँ मूल्य बढेको छ। यही अवधिमा चिनीको मूल्य किलोमा पाँच रुपैयाँसम्म बढेको छ। स्वदेशी चिनी रित्तिदै गएपछि मूल्य बढ्न थालेको हो।
अहिले चिनी किलोको ८५ रुपैयाँमा बिक्री भइरहेको छ। साल्ट ट्रेडिङ र खाद्य तथा व्यापार कम्पनीले सहुलियत भन्सारमा चिनी आयात गर्न ढिलाइ भएमा अझै मूल्य बढ्नेछ। कुलेश्वरको एक खाद्यान्न व्यापारीका अनुसार धारा तोरीको तेलको मूल्य लिटरमा २ सय ४० रुपैयाँ पुगेको छ।
कोरोना संक्रमणसँगै आपूर्ति प्रभावित भएका कारण थोक बिक्रेताले केही बढाएर पठाउन थालेका छन्। तर उद्योगमै भने तोरीको तेलमा पाँच प्रतिशत मात्रै बढेकाले खुद्रा मूल्य नबढेको दुगड समूहको स्वस्तिक आयल इन्डस्ट्रिजले जनाएको छ। लकडाउनको अवधिमा अन्तर्राष्ट्रिय बजारमा तोरीको मूल्य बढ्दा समेत मूल्य यथावत राखेको जनाउँदै कम्पनीले अहिले मूल्य बढ्ने कारण नरहेको स्पष्ट पारेको छ।
अरु ब्राण्डको तोरीको तेलको मूल्य पनि बढेको छ। चामलको मूल्य लकडाउनकै अवधिमा किलोको दुई रुपैयाँ बढेको थियो। त्यसपछि चामलको मूल्य बढेको छैन। केराउ, चना र भटमासको मूल्य यथावत नै छ।
चौधरी समूहले उत्पादन गर्ने वाइवाइ चाउचाउको मूल्य पनि बढेको छ। एक महिना अघि वाइवाइको तौल बढाएर प्याकेटको २५ रुपैयाँ कायम गरिएको छ। वाइवाइ ७५ ग्रामबाट बढाएर सय ग्राम पुर्याइएको छ।
यसअघि वाइवाइ प्याकेटको २० रुपैयाँ थियो। वाइवाइ क्वीकको पनि पाँच ग्राम बढाइए छ। ७० ग्रामको वाइवाइ क्वीकको मूल्य २० रुपैयाँ पुगेको छ। यसअघि यो चाउचाउको मूल्य १८ रुपैयाँ थियो।
लकडाउन खुलेपछि ड्राइ फ्रुट्सको मूल्य भने घटेको छ। व्यवसायीका अनुसार हाडे बदामको मूल्य किलोमा सय रुपैयाँ घटेर ११ सय रुपैयाँमा बिक्री भइरहेको छ।
काजुको मूल्य पनि किलोमा सय रुपैयाँ घटेर १५ सयमा बिक्री हुन थालेको छ। किसमिसको मूल्य किलोमा ३० रुपैयाँ घटेर ३ सय ९० रुपैयाँमा बिक्री हुन थालेको छ।
पिस्ता किलोको सय रुपैयाँ घटेर १८ सय रुपैयाँमा बिक्री हुन थालेको छ। ओखरको मूल्य किलोमै डेढ सय रुपैयाँ घटेर ५ सय ५० रुपैयाँमा बिक्री हुन थालेको छ। सुकमेलको मूल्य किलोमा दुई हजारभन्दा बढी घटेर ४ हजार ७ सय रुपैयाँसम्म बिक्री हुन थालेको छ।
प्रकाशित मिति: १ भदौ २०७७, सोमबार












