वैदेशिक व्यापारमा थोरै सुधार


 


काठमाडौं, भदौ ९

चालु आर्थिक वर्ष २०७७–७८ को पहिलो महिना साउनमा वैदेशिक व्यापारको सूचक सकारात्मक पाइएको छ । भन्सार विभागका अनुसार साउनमा आयातमा उच्च गिरावट र निर्यातमा सुधार भएको छ ।

साउनमा ८५ अर्ब ८० करोड ७९ लाख रुपैयाँको वस्तु आयात र ९ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्ष २०७६र७७ को पहिलो महिनामा आयात १ खर्ब भन्दा बढीको थियो भने निर्यात ८ अर्ब ८३ करोड रुपैयाँको भएको थियो ।

आयातमा आएको कमी र निर्यातमा सामान्य वृद्धिले एक महिनाको व्यापार घाटामा समेत सामान्य सुधार देखिएको छ । यद्यपि अर्थतन्त्रमा यस्तो सुधार भने गत आर्थिक वर्षदेखि नै देखिएको थियो ।

विभागका तथ्यांक अनुसार एक महिनामा कुल व्यापार घाटा ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ छ । गत आर्थिक वर्षमा साउन महिनाको व्यापार घाटा ९७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ बराबरको थियो । यो एक महिनामा व्यापार घाटा २२.१७ प्रतिशतले गिरावट देखिएको छ ।

साउनमा कुल वैदेशिक व्यापारको आकार भने ९५ अर्ब ४२ करोड ८० लाख रुपैयाँको रहेको छ । गत वर्ष साउनमा १ खर्ब १५ अर्ब ५६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । यो महिनामा कुल वैदेशिक व्यापारमा १७।४२ प्रतिशतको कमी आएको छ ।

वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०।०८ प्रतिशत र आयातको हिस्सा ८९.९२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्