सोह्र श्राद्ध पनि ‘भर्चुअल’, कसरी दिने दक्षिणा ?


 



ललितपुर, भदौ १२
पण्डित माधवप्रसाद शर्मालाई संक्रमणबीच ‘संस्कार जोगाउने’ पिरलोले सताउन थाल्दै छ ।

नजिकिदो ‘सोह्रश्राद्ध’ले त झन् नपिरोल्ने कुरै भएन । सोह्र श्राद्ध आगामी १७ भदौदेखि सुरु हुँदै छ । ‘संक्रमणबाट जोगिनु पनि पर्‍यो, संस्कार पनि धान्नैपर्‍यो,’ पण्डित शर्माले सुनाए, ‘घरघर जाँदा संक्रमण सर्ने र फैलने उत्तिकै खतरा छ, यसो भएपछि श्राद्धमा पनि भर्चुअलको सहायता लिनुपर्ने अवस्था छ ।’

जजमान र पुरोहित आ–आफ्नै घरमा बसेर भर्चुअल श्राद्ध गर्न सकिने उनको धारणा छ । ‘भर्चुअल श्राद्ध’मा ब्राह्मणबाट संकल्प, मन्त्रोचारण हुन्छ अर्कोतिर जजमान कुशलाई ‘ब्राह्मण’ थपना गरी टीका लगाइदिन्छन् ।

सोह्र श्राद्ध आउन एक साता मात्र बाँकी छ । पितृ स्मरण गर्दै जल र अन्नसहित श्राद्ध गरिन्छ । कोरोनाका कारण पहिलेजस्तो नातागोता भेला गरेर श्राद्ध गर्ने स्थिति छैन । श्राद्ध रोक्ने कुरा पनि भएन । यसअघि, ब्राह्मण जजमानका घर पुग्थे ।

एकातर्फ पितृ स्मरणसहित संस्कृति धान्न श्राद्ध गर्नैपर्ने बाध्यता र अर्कोतर्फ स्वास्थ्यको ख्याल राख्नुपर्ने चुनौती आइपरेको छ ।

विज्ञका अनुसार संक्रमण फैलाउन ‘एकै व्यक्ति पनि काफी’ हुन्छन् । सोह्र श्राद्ध प्रतिपदादेखि औँसीसम्म एकै ब्राह्मणले धेरै घरमा गई श्राद्ध गराइदिन्छन् ।

नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा। रामचन्द्र गौतम संक्रमणकालीन अवस्थामा ‘सकेसम्म एक जना ब्राह्मण मात्र बोलाएर श्राद्ध गर्न आग्रह गर्छन् ।

‘पढ्न सके आफैँले पढेर श्राद्ध गर्ने, नसके स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर ब्राह्मणलाई श्राद्ध गराउन लगाउन सकिन्छ,’ उनी भन्छन्, ‘हाम्रो संस्कार र संस्कृति लचकदार भएकाले विश्वास र आस्था नखलबलिने गरी कर्म गरे पनि फल प्राप्त हुन्छ ।’

आध्यात्मिक पत्रकार संघ अध्यक्ष शिरोमणि दवाडी इन्टरनेट वा फोनका माध्यमबाट श्राद्ध गराउँदा दक्षिणा बैंकिङ प्रणालीबाटै पठाउन सकिने बताउँछन् । ‘नभए, पछि भेटेरै दिए पनि हुन्छ,’ उनले थपे । राजधानी दैनिक

प्रकाशित मिति: १२ भाद्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्