जनशक्ति नहुँदा विमानस्थलमा बाधा


 


काठमाडौं, भदौ १४

विदेशबाट दक्ष जनशक्ति ल्याउन नसक्दा निर्माणाधीन विमानस्थलको प्रगतिमा प्रभाव पर्ने भएको छ। जनशक्ति अभावले पोखरा र भैरहवा विमानस्थल निर्माणमा प्रभाव पर्ने भएको हो।

यही वर्ष सन् २०२० मार्चमा सक्ने लक्ष्य राखिएको भैरहवा विमानस्थलको कोभिड १९ को कारण डिसेम्बरसम्म म्याद थपिएको छ।

अर्को क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको पोखरा विमानस्थल २०२० कै डिसेम्बरमा सक्ने लक्ष्य राखिएको थियो। तर कोभिड १९ को कारण लक्ष्यअनुसार काम हुन सकेको छैन। विमानस्थलको निर्माणकार्य अब सन् २०२१ जुलाईसम्म सक्ने बताइएको छ।

भैरहवा विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम सकिएको छ भने पोखराको पनि पूर्वाधारको धेरै काम सम्पन्न भइसकेको छ। दुवै विमानस्थलमा मुख्य उपकरण जडान काम बाँकी छ।

चीनमा सन् २०१९ डिसेम्बरतिर कोभिड १९ को अवस्था देखिएकाले लकडाउन गरियो। त्यसपछि नेपालमा अवश्यक पर्ने उपकरण र जनशक्ति आउन पाएनन्। चैतदेखि नेपालमै लकडाउन भयो। यसले पुनः निर्माण सामग्री तथा उपकरण बाटोमै रोकिनपुगे।

लकडाउन खुकुलो भएसँगै निर्माण सामग्री त आए तर दक्ष जनशक्ति आउन पाएनन्।

‘अन्तर्राष्ट्रिय विमानस्थलको लागि आवश्यक पर्ने अधिकांश उपकरण आइसकेका छन्। केही आउँदै छन्, अवरोध छैन’, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक इन्जिनियर प्रदिप अधिकारीले भने, ‘नेपाल आएका उपकरण जडानको लागि दक्ष जनशक्ति छैन।’

उनले मुख्यतया ती उपकरण जडानको लागि थाइल्यान्ड, चीन, अमेरिका, अष्ट्रियालगायतका देशबाट जनशक्ति ल्याउनुपर्ने बताए।

मन्त्रिपरिषदले नेपालमा कोभिड १९ को संक्रमण बढेको भन्दै नेपालीबाहेक अरु नेपाल आउन नपाउने निर्णय गरेको छ। त्यसले पनि विदेशी जनशक्ति नेपाल आउन अवरोध भएको छ। हुन त सरकारले भदौ १७ गतेबाट नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ। जसअनुसार नेपालमा दैनिक पाँच सय जना आउन पाउँछन्।

प्रकाशित मिति: १४ भाद्र २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्