सामाजिक सुरक्षा कोषमा आकर्षण : बन्दाबन्दीमा दोब्बर रकम जम्मा


 


काठमाडौं, भदाैँ १५
पछिल्लो समय सामाजिक सुरक्षा कोषमा आकर्षण बढ्दै जाँदा बन्दाबन्दीको बीचमा मात्रै दोब्बरले रकम जम्मा भएको छ । बन्दाबन्दी अघिसम्म कोषमा रू. ८५ करोड रहेकोमा अहिले रू. १ अर्ब ७२ करोड पुगेको छ । अर्थ मन्त्रालयले वैशाख, जेठ, असार अर्थात् बन्दाबन्दीभरको करीब रू. ८६ करोड निकासा दिए पनि कोषमा जम्मा नभएकाले यो थपिन बाँकी छ ।

सामाजिक सुरक्षा कोष कार्यविधिअनुसार श्रमिकले न्यूनतम पारिश्रमिकको ११ प्रतिशत कर्मचारीबाट र २० प्रतिशत रोजगारदाताले गरी ३१ प्रतिशत कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ ।

बन्दाबन्दीले आर्थिक गतिविधि ठप्प हुँदा निजीक्षेत्र मारमा परेकाले राहतस्वरूप बन्दाबन्दीभरको श्रमिक र प्रतिष्ठानले सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम सरकारले बेहोर्ने घोषणा गरेको थियो ।

सोहीअनुसार कोषलाई अर्थले निकासा दिएको हो । अर्थले कोषलाई फागुन महीनाको भने यसअघि नै रू. १८ करोड ६७ लाख भुक्तानी गरिसकेको छ ।

जेठ १५ मा ल्याइएको चालू वर्षको बजेटमा सामाजिक सुरक्षा कोषमा दर्ता भएका श्रमिकको बन्दाबन्दी अवधिभर सरकारले रकम जम्मा गरिदिने घोषणा गरेको थियो । यसरी जम्मा भएको रकम व्यवसायीले सापटी लिएर अहिले तलब दिन सक्ने व्यवस्था मिलाइएको थियो ।

सामाजिक सुरक्षामा आकर्षण बढेसँगै योगदानकर्ताले जम्मा गरेको ठूलो रकम अहिले कोषमा थुप्रिएको छ । सामाजिक सुरक्षा ऐनमा लगानीसम्बन्धी कार्यविधि बनाएर कोषको रकम लगानी गर्न सकिने व्यवस्था भए पनि कार्यविधि अझै बन्न सकेको छैन ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली मन्त्रिपरिषद्मा बन्दाबन्दीअघि नै कार्यविधि पठाइए पनि स्वीकृत नभएको बताउँछन् । ‘कार्यविधि मन्त्रिपरिषद्मा छलफलमै रहेको सुनिन्छ, कहिले पास हुने हो, थाह छैन,’ उनले भने ।

सामाजिक सुरक्षा कोषलाई लगानीमैत्री बनाउन लगानीसम्बन्धी कार्यविधि छिट्टै जारी हुन जरुरी रहेको कोषका कार्यकारी निर्देशक ज्ञवालीको तर्क छ ।

‘कार्यविधि पास भएलगत्तै लगानीका ढोकाहरू खुल्ने र थप आकर्षण बढ्ने अनुमान छ,’ उनले भने । बन्दाबन्दीपछि सामाजिक सुरक्षा कोषमा ५ सय ८ रोजगारदाता र त्यहाँ कार्यरत २२ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा थपिएको कोषका कार्यकारी निर्देशक ज्ञवाली बताउँछन् । बन्दाबन्दी, निषेधाज्ञाको अवधिमा पर्यटन, हवाई कम्पनी, उद्योग, एनजीओ, सहकारी, म्यानपावर, सञ्चारलगायत क्षेत्रको सहभागिता बढ्दो छ ।

भदौ १३ सम्म १२ हजार ४३ प्रतिष्ठानमा कार्यरत १ लाख ७२ हजार ३ सय ५० योगदानकर्ता सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् ।

कोषका अनुसार कोभिड अघिसम्म कोषमा आबद्ध हुन आनाकानी गरिरहेका निजी प्रतिष्ठानहरू कोरोना महामारीका कारण उद्योग/व्यवसाय प्रभावित भएको र श्रमिकको दायित्व वहन गर्न अप्ठ्यारो परेपछि कोषमा आबद्ध हुनेक्रम बढेको हो ।

बैंकतर्फ ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक, मेघा बैंकसहित २० ओटा बैंक वित्तीय संस्था सामाजिक सुरक्षा कोषमा गएका छन् भने यति, बुद्ध, सिम्रिक, सीता, श्री एयरलाइन्ससहितका कम्पनी सामाजिक सुरक्षामा गइसकेका छन् ।

बन्दाबन्दी अवधिमा सामाजिक सुरक्षामा थपिने होटेलहरूको संख्या पनि ठूलो छ । खासगरी होटल अन्नपूर्ण, याक एन्ड यती, होटल हिमालयन, गोदावरी फरेस्ट रिसोर्ट, एयरपोर्ट होटेल, होटेल र्‍याडिसनसहितका होटेल सामाजिक सुरक्षा योजनामा सूचीकृत भइसकेको कोषले जानकारी दिएको छ । आजको आर्थिक अभियान दैनिकबाट

प्रकाशित मिति: १५ भाद्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्