पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्न वरिष्ठ नेता पौडेलको प्रस्ताव


 


काठमाडौं, असाेज ५
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनमा कायम प्रतिनिधिबाटै आगामी १४औं महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन् । क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद सुरु नहुँदै प्रभावित भएपछि वरिष्ठ नेता पौडेलले तोकिएकै मितिमा महाधिवेशन गर्न यस्तो प्रस्ताव अघि सारेका हुन् । पौडेलले सो प्रस्ताव केन्द्रीय समिति बैठकमा समेत लैजाने तयारी गरेका छन् ।

‘महाधिवेशन नहुने अवस्था सिर्जना हुँदै छ, म्याद सकिएपछि पार्टीमा को सभापति ? कसलाई मान्ने ? त्यो अवस्था आउन दिनुहुन्न । बरु १३औं महाधिवेशनकै प्रतिनिधि कायम गरेर भए पनि महाधिवेशन समयमा नै गरौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले आइतबार एक भर्चुअल कार्यक्रममा भने ।

पौडेलले विधि र विधानलाई बचाउन पनि निर्धारित मितिमा नै महाधिवेशन गरिनुपर्नेमा जोड दिए । उनले सभापति शेरबहादुर देउवा कुनै हालतमा तोकिएको मितिमा महाधिवेशन नगर्ने पक्षमा उभिएको बताए । ‘विधि र विधान बचाउन पनि निर्धारित मितिमा महाधिवेशन गरौं भन्ने मेरो चाहना हो तर सभापति नै निर्धारित मितिमा महाधिवेशन होस् भन्ने पक्षमा हुनुहुन्न,’ पौडेलले थपे।

महाधिवेशन नगर्ने मनसायबाटै केही जिल्लामा पार्टीको संरचना समायोजन अड्काइएको र क्रियाशील सदस्यता फाराम पठाउनसमेत बखेडा झिकिएको पौडेलले आरोप लगाए । पौडेलले पछिल्लो समय विभिन्न विभागमा धमाधम मनोनीत भएकाहरू फागुनपछि कुन भूमिकामा रहने भन्ने प्रश्न पनि गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

प्रकाशित मिति: ५ आश्विन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्