काँग्रेस महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित


 


काठमाडौं, असोज ५

नेपाली कांग्रेसले १४ औं महाधिवेशनको नयाँ मिति तय गर्न असोज १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकले १४औं महाधिवेशनको कार्यतालीका संशोधनसहित नयाँ मिति तोक्ने भएको हो।

गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने भनिएको महाधिवेशन उक्त समयमा नहुने निश्चित भएको छ।

गत फागुनदेखि विधानले दिएको अतिरिक्त एक वर्ष कार्यकाल बढाउन पाउने सुविधा कांग्रेसले प्रयोग गर्दै आएको छ। विधानको अतिरिक्त सुविधा प्रयोग गरेर पनि पाँच वर्षभित्र महाधिवेशन गर्न नसकेपछि अब कांग्रेसले संबैधानीक व्यवस्था अनुसारको थप छ महिना समय लिनसक्ने छ। त्यस अनुसार उसले अर्को भदौसम्ममा महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिकासहितको नयाँ मिति ल्याउन सक्नेछ। तर, पार्टीका शीर्ष नेताहरूले संविधानको व्यवस्था अनुसार अन्तिम समयमा महाधिवेशन गर्ने मिति सार्न नहुने धारणा राख्दै आएका छन्। कतिपयले संबैधानीक व्यवस्थालाई सम्बोधन गर्न सकिएपनि पार्टीका सामु नैतिक प्रश्न खडा हुने भन्दै वैशाख वा जेठ भन्दा टाढा महाधिवेशन धकल्न नहुने तर्क गर्दै आएका छन्। कोरोना भाइरसको बढ्दो संक्रमणले आगामी वैशाख, जेठसम्म पनि पुरानै कार्यशैलीबाट महाधिवेशन गर्न सक्ने अवस्था नभएको भन्दै महाधिवेशनलाई विकेन्द्रीत गर्नुपर्ने धारणा कांग्रेस नेताहरूको छ। कोरोना भाइरस संक्रमणको समयलाई शून्य समय मान्ने हो भने महाधिवेशन गर्नका लागि थप पाँच महिना समय लिनसकिने तर्कपनि कांग्रेसभित्र छ। तर, महाधिवेशन कहिले गर्ने भन्नेमा नेताहरू अझै एकमत देखिंदैन।

पटक पटक महाधिवेशनको मिति सार्दा राम्रो सन्देश नजाने बताउँदै एक पदाधिकारीले भने,‘अहिलेको अवस्थामा भदौभन्दा पहिला महाधिवेशन सम्भव छैन। ’ अहिले वैशाख वा जेठमा भने फेरि मिति सार्नु राम्रो नहुने भन्दै उनले भने,‘ कोरोना भाइरसको संक्रमण अहिले जस्तै भइराख्यो भनेपनि भदौमा कसरी महाधिवेशन सम्पन्न गर्ने विकल्पसहित नयाँ मिति तोक्नुपर्छ। ’ विधान अनुसार वर्तमान केन्द्रिय समितिको चार वर्षको कार्यकाल गत फागुनमै सकिएको छ। विधानको व्यवस्था अनुसार एक वर्ष कार्यकाल थप गर्दै १४औं महाधिवेशन फागुन ७ देखि गर्ने गत माघ १३ गते बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो। उक्त बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनीक गरेपनि आन्तरिक विवाद र कोरोना भाइरस संक्रमणका कारण पटकपटक प्रभावित हुँदै आएको छ। जसले गर्दा गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै सकिएको छैन।

प्रकाशित मिति: ५ आश्विन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्