प्रहरीको हत्या आरोपमा पक्राउ परेका सात जना सार्वजनिक


 



धनगढी, कार्तिक ४
कैलालीको धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदको हत्या आरोपमा पक्राउ परेका सात जनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गरी हत्या आरोप स्वीकार गरेका उनीहरूलाई सार्वजनिक गरेको हो ।

धनगढी उपमहागनरपालिका वडा नम्बर १२ जुगेडास्थित अस्थाई प्रहरी पोष्टका इन्चार्ज र जवानको हत्या आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल रानालाई सार्वजनिक गरेको छ ।

उनीहरूले हत्याको आरोप स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। उनकाअनुसार आरोपीले नेपालबाट भारत मटहर सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि लाठी र कोदालोले आक्रमण गरी हत्या गरेको स्वीकारेका छन् ।

प्रहरीले पक्राउ गरेका १६ जनामध्ये सात जनाले मात्रै अपराध स्वीकार गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताए । प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले राति साढे १० बजे सम्पर्क गर्दा फोन नलागेपछि विहान खोजी गरिएको र नौं बजेमात्रै नदीमा असईको शव फेला परेको बताए ।

प्रहरी सहायक निरीक्षक बिकको शब र उनीहरूले गस्तीमा जाँदा प्रयोग गरेको मोटरसाइकल आइतबार बिहानै मोहना नदीको किनारमा फेला परेको थियो भने प्रहरी जवान साउँदको शब प्रहरीले मोहना नदीको मझधारमा गाडिएको फेला पारेर मंगलबार नै झिकेको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्