लागुऔषध र सुनसहित सीमा क्षेत्रबाट चार जना पक्राउ


 



कञ्‍चनपर, कार्तिक ९
कञ्‍चनपरको बेलडाँडी गाउँपालिका नजिक नेपाल-भारत सीमा क्षेत्रबाट लागुऔषध र सुनसहित चार जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्‍वार्टर शैलेश्‍वरी कञ्‍चनपुर मातहतको बोर्डर आउट पोस्ट भुडा र बोर्डर आउट पोस्ट झिलमिलाको सीमा नाका गस्ती टोलीले उनीहरूलाई हिजो साँझ पक्राउ गरेको हो । 

कैलाली उपमहानगरपालिका २ का १६ वर्षीय हिमाल शाह, कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका १० का २८ वर्षीय मनीष सुनारलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये शाहबाट सशस्त्र प्रहरीले लागु औषध ब्राउन सुगर तीन दशमलव पाँच ग्राम र अर्का पक्राउ परेका सुनारबाट एक दशमलव पाँच आना अवैध सुन बरामद गरेको छ ।

यसैगरी भीमदत्त नगरपालिका ३, भाँसी बस्ने ३५ वर्षीय जनकराज जोशी र सोही नगरपालिका वडा १५ बस्ने ३६ वर्षीय नगेन्द्र चन्दलाई मोटरसाइकलको सिटभित्र लागु औषध लुकाइछिपाई राखेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ गरेकाहरुबाट लागुऔषध कोरेक्स ६०० मिलिटरका ६ बोतल, नाइट्रोभेट २४ चक्की, प्रोभोलिन स्पास १५ वटा बरामद गरेको छ । बरामद लागुऔषध, सुन, मोटरसाइकल र पक्राउ परेका चारै जनालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्