नाइजेरियामा सशस्‍त्र समूहको हमलामा ११० किसान मारिए


 


नाइजेरिया, मंसिर १५
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रस्थित कोशोब र माइदुगुरी सहर नजिकैको ग्रामिण भेगमा बोको हरामले गरेका हमलाबाट कम्तिमा ११० जना किसान मारिएका छन् ।

प्रारम्भिक चरणमा कोशोबस्थित खेतमा काम गरिरहेका ४३ किसान मारिएको समाचार थियो । पछि अन्य ग्रामिण भेगमा मारिएका ७० गरी जम्मा ११० किसान मारिएको समाचार अन्तर्राष्ट्रिय मिडियाले बनाएका हुन् ।

संयुक्त राष्ट्रसंघलाई हवाला दिँदै अलजजीरा, एपी, बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले यसबारे समाचार सार्वजनिक गरेका छन्। ‘आक्रमणबाट कम्तिमा ११० आम नागरिक मारिएका छन् र अरु धेरै घाइते छन्,’ संयुक्त राष्ट्रसंघले विज्ञप्तिमा जनाएको छ । साथै केही महिलाको अपहरण भएको पनि आशंका गरिएको स्थानीयले बताए ।

उक्त घटना बोर्नो राज्यको राजधानी माइडुगुरीको नजिकै भएको हो । संयुक्त राष्ट्रसंघले बन्दुकधारीले जथाभावी गोली चलाउँदा उक्त घटना भएको बताएको छ । उक्त क्षेत्रमा बोको हराम र इस्लामिक स्टेट (आईएस) को गतिविधि चल्दै आएको छ ।

राष्ट्रसंघीय मानविय संयोजक एडवार्ड क्यालनले मोटरसाइकलमा आएका सशस्त्र समूहले खेतमा काम गरिरहेका किसानमाथि जथाभावी आक्रमण गरेको बताएका छन् । एजेन्सी

प्रकाशित मिति: १५ मंसिर २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्