एसियाली खेलकुद छनोट फाइनल: उपाधि जित्न नेपाललाई १८९ रनको लक्ष्य
काठमाडौं। एशियाली खेलकुद छनोट प्रतियोगिताको उपाधिका लागि हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ ।
सिंगापुरस्थित सिंगा ओभल मैदानमा जारी खेलमा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएका थिए ।
टस हारेर ब्याटिङ थालेको हङकङले नेपालसामु १८९ रनको चुनौती प्रस्तुत गरेको हो।
हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन जोड्यो। उसका लागि अंशुमान रथले सर्वाधिक ८० रनको योगदान दिए।
यसैगरी शाहिद वसिफले ५५ तथा शिव माथुरले २६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका शेर मल्लले चार विकेट लिँदा करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए।
दुवै टोली अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा छन् । नेपालले समूह चरणमा मलेसिया र चीनलाई हराएको थियो । सेमिफाइनलमा नेपालले ओमानमाथी ८ विकेटको रवाफिलो जित निकाल्दै फाइनलमा पुगेको हो।
यता, हङकङले समूह चरणमा ओमान, बहराइन र सिंगापुरलाई हराएको थियो । सेमिफाइनलमा हंङकङले मलेसियालाई ६ विकेटले हराएको थियो।
यसअर्थ दुवै टोली उपाधिको दाबेदारका रूपमा रहेको छन्। जारी प्रतियोगितामा नेपाली खेलाडीको उत्साहजनक प्रदर्शन र सेमिफाइनलको रवाफिलो जितले नेपाली टोली उच्च लयमा रहेको देखिन्छ।
यसअघि नै सेमिफाइनलमा पुगेका नेपाल र हङकङ सहितओमान र मलेसिया पनि २० औं संस्करणको एसियाली खेलकुदका लागि छनोट भैसकेका छन्।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार
















