सुदूरपश्चिममा परीक्षण नमुनामध्ये १० प्रतिशतमा कोरोना पुष्टि


 



धनगढी, पौष २
सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएका नमुनामध्ये १० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना संक्रमण देखिएपछि नौं महिना अवधिमा पीसीआर पद्धतिबाट एक लाख २५ हजार तीन सय ६३ जनाको नमूना परीक्षण गर्दा १२ हजार छ सय चार जनामा कोरोना पोजिटिभ देखिएको हो । यो जम्मा संक्रमित संख्यामध्ये १० दशमल शून्य पाँच (१०.०५) प्रतिशत हो । त्यसमध्ये पनि चार दशमलव१५ (४.१५) प्रतिशत संक्रमित कैलालीका हुन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमितमध्ये ४६ जना अर्थात शून्य दशमलव तीन (०.३) प्रतिशतको उपचारका क्रममा मृत्यु भएको छ । यद्यपि अन्यत्र ठाउँमा सिफारिस भई मृत्यु भएका तथा सङ्क्रमित भई होम आइसोलेशनमा मृत्यु भएका कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग तथ्याङ्कमा राख्ने गरेको छैन ।

यस्तै, संक्रमितमध्ये हालसम्म ८० दशमलव १८ प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन् । बाँकी १९ दशमलव ४५ प्रतिशत सक्रिय संक्रमितको संख्या छ । गत चैत महिनादेखि फैलिन थालेको कोभिड–१९को संक्रमणका कारण हुने मृत्युदर पछिल्ला दिनमा तीब्र बनेको छ । पछिल्लो १५ दिनयता प्रदेशमा आठ जना संक्रमितको मृत्यु भएको छ । संक्रमण भई अवस्था जटिल भएका बिरामी बढ्दै जाँदा मृत्युदर पनि बढेको स्वास्थ्यकर्मीको भनाई छ ।

पछिल्ला दिनमा नमूना संकलनमा पनि कमी हुँदै गएको छ। प्रदेशका प्रयोगशालामा दैनिक छ हजार नमूना परीक्षण गर्ने क्षमता रहेपनि बढीमा चार सय भन्दा बढी नमूना संकलन हुने गरेको छैन । कोरोना भाइरसको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले आफ्नो नमूना परीक्षण नगराएर घरमा बस्दा पनि नमूना सङ्कलनमा कमी आएकोसेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डा. शेरबहादुर कमरको भनाई छ । उनले परीक्षण गरिएको नमुनामा पनि पहिलेको भन्दा संक्रमण दर धेरै देखिएको बताए ।

सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना सङक्रमणको जटिलावस्थाका छ जनाको सघन उपचार कक्ष र दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कैलालीको सेती प्रादेशिक अस्पतालमा दुई तथा डडेल्धुरा, डोटी, बैतडी र
अछाम अस्पतालमा व्यवस्थापन गरिएका एकएक मेशिनबाट कोरोनाको नमूना परीक्षण भइरहेको छ ।

सङ्क्रमणको समस्यासँगै सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा सञ्चालनमा ल्याइएका पिसिआर मेशिनमार्फत नमूना परीक्षण भइरहे पनि सञ्चालन गर्न आवश्यक सामग्रीको व्यवस्थापनमा ढिलाइ हुँदा कञ्चनपुरको महाकाली अस्पतालको मेशिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि सो अस्पतालमा पिसिआर मेशिनको व्यवस्थापन भएको थियो ।

प्रकाशित मिति: २ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्