जलविद्युत विकासका क्षेत्रमा सहकार्य गर्न दाहालको प्रस्ताव


 


prachanda

काठमाण्डौ, कार्तिक १

प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलन सदस्य मुलुकहरुबीच वार्ता र सहकार्यका लागि अनुपम अवसर भएको बताएका छन् । ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलनलाई आइतबार गोवामा सम्बोधन गर्दै दाहालले यो क्षेत्रले विश्वको एक तिहाईभन्दा बढी जनसंख्या र एक चौथाई कूल गार्हस्थ्य उत्पादनको प्रतिनिधित्व गर्ने बताए ।

बिम्स्टेकले यस क्षेत्रका डेढ अर्ब भन्दा बढी जनसंख्याको विकास र उज्ज्वल भविष्यका लागि सामूहिक अभिलाषा राख्नुपर्ने धारणा राख्दै दाहालले ब्रिक्स समुह यस क्षेत्रको आर्थिक रुपान्तरणमा केन्द्रित हुनुपर्ने बताए । उनले बिम्स्टेक देशहरुबीचको कनेक्टीभिटीलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउँदै उर्जा र जलविद्युत लगायतका विकासका क्षेत्रमा मिलेर काम गर्न प्रस्ताव गरे ।

यस क्षेत्रका अपार सम्भावनालाई व्यवहारमा साकार पार्न ब्रिक्स र बिम्स्टेकबिच बलियो साझेदारीको आवश्यककता औँल्याउँदै उनले भारत दुवै समूहको महत्वपूर्ण सदस्य भएकाले उसले सेतुको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

पहिलो पटक साझेदारी र अवसरका विषयमा ब्रिक्स र बिम्स्टेक सदस्य मुलुकबीच छलफल भएकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यसले ठूलो सम्भावनाको ढोका खोलेको बताए । शिक्षा र मानव संशाधन विकासको सहयोगबाट दुवै समूहले लाभ लिन सक्ने बताउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि युवा जनशक्तिलाई सदुपयोग गर्न सकिने धारणा राखे ।

प्रकाशित मिति: १ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्