बैंकमा जागिर माेह, २ सय ४९ सिटमा २६ हजारको आवेदन


 


काठमाडाैं, कार्तिक २

राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतिस्पर्धाबाट २ सय ४९ कर्मचारी भर्ना गर्न सार्वजनिक सूचना जारी गरेकामा आवेदन दिनेको संख्या २६ हजार पुगेको छ। आकर्षक तलब, भत्ता र अन्य सुविधा पाइने भएकाले यो जागिरमा आकर्षण देखिएको हो। मासिक आधा लाखसम्म कमाइ हुने भएकाले राष्ट्रिय वाणिज्य बैंकको प्रतिस्पर्धामा उत्रेका युवायुवतीले टुप्पी कसेर पढ्ने गरेका छन्।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ सय ४९ कर्मचारी नियुक्त गर्न भदौ २८ गते सार्वजनिक सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको थियो। असोज २८ गतेसम्म आवेदन दिने मिति तोकिएको थियो। सो अवधिमा दरखास्त दिन राष्ट्रिय वाणिज्य बैंकमा भिड लागेको थियो। दरखास्त बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा बुझाएका थिए।

जागिरका लागि आइतबारसम्म २५ हजार ९ सय ७१ जनाले आवेदन दिइसकेको राष्ट्रिय वाणिज्य बैंकका मानव संशाधन विभागका प्रमुख गणेश ढकालले बताए।  बैंकले प्रशासन सहायक प्रबन्धकमा ६९ जना मागेको छ। उक्त पदका लागि २ हजार ९७ जनाले आवेदन दिएका छन्। यसमा आवेदन दिने आवेदकले अर्थशास्त्र वा ब्यवस्थापन संकायमा स्नातकोत्तर गरेको हुनुपर्छ।

वरिष्ठ सहायकमा १९ जना माग गरेकोमा २ हजार ६ सय २१ जनाले आवेदन दिएका छन्। वरिष्ठ सहायक (नगद)का लागि ५० जना माग गरेकोमा ५ हजार ८९ जनाले आवेदन दिएका छन्। दुवै पदका लागि आवेदन दिनेले अर्थशास्त्र वा व्यवस्थापन वा वाणिज्य शास्त्रमा स्नातक हुनुपर्ने व्यवस्था छ।

त्यस्तै बैंकले वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) का लागि ६ जना कर्मचारी मागेकोमा ३ सय १७ जनाले आवेदन दिएका छन्। उक्त पदमा आवेदन दिनका लागि कम्प्युटर वा कम्प्यूटर साइन्स वा कम्युनिकेसन वा सूचना प्रविधिमा मान्यता प्राप्त संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।

चौथो तह प्रशासन सहायकमा ५५ जना माग गरेकोमा १० हजार ६ सयजनाले आवेदन दिएका छन्। यसैगरी, चौथो तह प्रशासन (नगद) मा ५० कर्मचारी मागेकोमा ५ हजार २ सय ४७ जनाले आवेदन दिएका छन्। दुवै पदका लागि १२ कक्षा वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ।

 

 

प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्