अमेरिकामा कोरोनाको नयाँ प्रकार मार्चसम्म तीब्र रुपमा बढ्न सक्ने स्वास्थ्य अधिकारीको चेतावनी


 


एजेन्सी, माघ ४
अमेरिकाका स्वास्थ्य अधिकारीले कोरोनाभाइरसको नयाँ भेरियन्ट जुन सबैभन्दा पहिला बेलायतमा देखिएको थियो, त्यसले मार्च महिनासम्म अमेरिकामा सबैभन्दा ठूलो समूहलाई संक्रमित गर्न सक्ने चेतावनी दिएका छन् ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले यस्तो चेतावनी दिएको हो । सिडिसीका अनुसार अबको केही हप्तामा भाइरसको यो नयाँ भेरियन्टको तीब्र फैलावट देख्न पाइनेछ ।

सिडिसीका अनुसार हिउँद अघि नै कोरोना संक्रमितको संख्यामा लगातार वृद्धि देखिएको थियो, यस्तोमा नयाँ भेरियन्ट बढ्दा स्वास्थ्य प्रणालीमा भारी दबाब पर्ने सम्भावना छ । शुक्रबार नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले महामारीसँग लड्ने आफ्नो योजना पेश गरेका थिए । तत्पश्चात् सिडिसीले यस्तो चेतावनी दिएको हो ।

जो बाइडेनका अनुसार खोप अभियान तीब्र गर्नु पर्नेछ । यसका लागि उनले एक योजना पनि पेश गरेका छन् । विशेषज्ञका अनुसार कोरोनाको नयाँ भेरियन्ट पहिलाको तुलनामा थुप्रै गुणा संक्रामक छ तर यो नयाँ भेरियन्ट पहिलेको तुलनामा बढी घातक छ भन्ने कुराको कुनै प्रमाण भेटिएको छैन ।

तर केही विशेषज्ञले अहिलेको खोपले कोरोनाको यो नयाँ भेरियन्टमा खासै प्रभावकारी नहुने आशंका पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति: ४ माघ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्