बाइडेनले राष्ट्रपतिको पद सम्हाल्ने बित्तिकै ठूलो निर्णयमा गरे हस्ताक्षर


 


एजेन्सी, माघ ८
अमेरिकी राष्ट्रपति पद सम्हाल्ने बित्तिकै जो बाइडेनले थुप्रै ठूला निर्णयमाथि हस्ताक्षर गरे ।

ओभल अफिसमा कालो मास्क लगाएर पुगेका राष्ट्रपति बाइडेनले पत्रकारसँग कुराकानी गरे अब उनको ठूलो प्राथमिकतामा ‘कोभिड संकट’, ‘आर्थिक संकट’ र जलवायु संकट’ समावेश भएको बताएका छन् ।

उनले आफ्नो पहिलो कार्यकारी आदेश अनुसार सबै अमेरिकीलाई कोभिड–१९ का लागि मास्क लगाउन अनिवार्य गरिदिएका छन् र साथै पेरिस जलवायु सम्झौतालाई अमेरिकामा पुनः समावेश गरेका छन् ।

कार्यकारी आदेश त्यस्ता आदेश हुन् जसमा राष्ट्रपतिले संसदबाट अनुमति लिनु पर्दैन । बराक ओबामाले यसको लगातार प्रयोग गर्दथे र डोनल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो हप्तामा यसको निकै प्रयोग गरेका थिए ।

यद्यपि, कार्यकारी आदेशलाई निकै विवादास्पद मानिन्छ ।

यदि जो बाइडेन प्रशासनको पहिलो दिनलाई हेर्ने हो भने नयाँ राष्ट्रपति आफ्नो समय खेर गर्न नचाहेको देखिन्छन् किनभने उनले आफ्नो एजेन्डा लागू गर्न र डोनाल्ड ट्रम्पको नीति फिर्ता लिनका लागि हालसम्म १७ कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् ।

अबका केही दिनमा उनले थप केही आदेशमा हस्ताक्षर गर्ने सम्भावना रहेको छ ।

यदि अघिल्ला राष्ट्रपतिसँग तुलना गर्ने हो भने दुई हप्ताभित्र राष्ट्रपति डोनल्ड ट्रम्पले आठ र राष्ट्रपति बराक ओबामाले ९ कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

नयाँ प्रशासनले भनेको छ, ‘देशको वर्तमान स्थिती ठिक छैन र उसले महामारीका कारण खस्कँदो अर्थव्यवस्थासँग जुधिरहेका छ, त्यसैले राष्ट्रपतिको तर्फबाट तत्काल कदम उठाउन आवश्यक छ ।’

प्रकाशित मिति: ८ माघ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्