समुदायको पहलमा खाेटाङका गाउँ झलमल्ल



खोटाङ, ४ कात्तिक

समुदायको पहलमा खोटाङको पश्चिमी तीन गाविसमा विद्युत् विस्तार गरिएको छ । हलेसी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड दुर्छिमको पहलमा दुर्छिम, बडहरे र मङ्गलटार गाविसमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको हो ।

दुर्छिमको छापडाँडामा बुधबार आयोजना गरिएको विद्युत् उद्घाटन कार्यक्रममा पञ्चेबाजासहित सांसद पाँचकर्ण राई (पिके)ले स्विच दबाएर उद्घाटन गरे । विद्युत् उद्घाटनसँगै तीन गाविसका पाँच सय ५० घरमा बत्ती बलेको छ ।

दुई करोड चार लाखको लगानीमा पहिलो चरणमा दुर्छिम का वडा नं १, ५, ६, ७ र ८, बडहरे का वडा नं ७, ८ र ९ तथा मङ्गलटारका वडा नं ८ र ९ मा १० वर्षको प्रयासपछि विद्युत् विस्तार गरिएको सहकारी संस्थाका उपाध्यक्ष खडेन्द्र राईले बताए ।

दोस्रो चरणमा दुर्छिम, बडहरे र मङ्गलटारका अन्य वडामा विद्युत् विस्तारका काम गरिने उपाध्यक्ष राईले जानकारी दिए । दातृ निकाय जिआइजेडको रु २१ लाख, पाँच गाविसको ३८ लाख, जिविसको एक लाख र सेयर सदस्यबाट सङ्कलित रु दुई लाख ३८ हजार गरी जम्मा रु ६२ लाख ३८ हजारको खर्चमा तीन गाविसका केही वडामा बत्ती बिस्तार गरिएको सहकारीका अध्यक्ष कुवेर राईले जानकारी दिए।

हलेसी क्षेत्रका महादेवस्थान, धितुङ, दुर्छिम, सल्ले, मङ्गलटार, च्यास्मिटार, बाहुनीडाँडा र डिकुवा गाविसमा बत्ती बाल्ने लक्ष्यका साथ दश वर्षअघि काम थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News