टेलिकमले पायो फोर जी सेवा सञ्चालन गर्न अनुमति


 


काठमाडौं, कात्तिक ७
नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनको लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको छ ।

शुक्रबार बसेको प्राधिकरणको सञ्चालक बोर्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकमलाई फोरजी सञ्चालनका लागि अनुमति दिने भनी माइनुट उठाएको प्राधिकरणका प्रमुख दिगम्बर झाले जानकारी दिए ।

उनका अनुसार टेलिकमलाई १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्ड मार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने गरी अनुमति दिइएको छ । अब टेलिकमले १० मेगाहर्जबाट टु जी र थ्री जी सेवालाई निरन्तर गर्ने छ भने ५ मेगाहर्जबाट फोरजी सेवा सञ्चालन गर्ने छ ।

नेपाल टेलिकमसँग प्राधिकरणले दशैं अगाडी नै फोरजी सञ्चालनको कार्ययोजना माग गरेको थियो ।

टेलिकमले पेश गरेको कार्ययोजनाकै आधारमा टेलिकमलाई फोरजी सञ्चालनको लागि अनुमति दिइएको झाले बताए ।

यससँगै नेपाल टेलिकमले प्राधिकरणले उपलब्ध गराएको १८ सय मेगावाट फ्रिक्वेन्सी ब्याण्डमार्फत् पुस १५ गतेबाट सेवाग्राहीले फोरजी सेवा उपलब्ध गराउन पाउने छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्