कर्णालीमा अक्सिजन सिलिन्डर खरिदका लागि ६ करोड ३५ लाख बजेट विनियोजन



कर्णाली, जेठ ३
कर्णाली प्रदेश सरकारले प्रदेश भर आवश्यक पर्ने अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख बजेट विनियोजन गरेको छ। आइतबार साझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका नयाँ भेरियन्ट सहितका बिरामीलाई अक्सिजन अनिवार्य भएकोले सुर्खेतमै उत्पादन गर्नेगरि अक्सिजन आपूर्ति गर्न अक्सिजन प्लान्ट स्थापना गर्ने  निर्णय गरेको हो ।

त्यस्तै कर्णाली प्रदेश सरकारले दुर्गमका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय समेत गरेको छ । प्रदेश सरकारका प्रवक्तासमेत रहेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरु डोल्पा, मुगु र हुम्लामा संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय भएको बताए ।

उनले भने, ‘यी जिल्लाहरुमा उपचार सम्भव नभएका संक्रमितलाई कोरोना विशेष अस्पतालमा लिएर उपचार गर्छौँ ।’ उक्त संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइने छ । सरकारले निजी सेवा प्रदायक कम्पनीका हेलिकप्टर चार्टर गर्ने प्रदेश सरकारले जनाएको छ ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले संक्रमित बिरामीको उद्धारका लागि सरकारले एक करोड बजेट छुट्याएको छ । बैठकले अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख, अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि पाँच करोड ४५ लाख र रेमडिसिभिर लगायतका औषधि खरिदका लागि एक करोड बजेट छुट्याइएको छ । उक्त सबै स्वास्थ्य सामग्री खरिदका लागि प्रदेश स्वास्थ्य निर्देशनालयलाई अनुमति दिने निर्णय समेत भएको प्रदेश सकारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News