कांग्रेसका यी मन्त्री र केन्द्रिय सदस्य राजिनामाकाे तयारीमा


 


काठमाडाैं, कार्तिक ११

अख्तियार प्रमुख लोकमान सिंह कार्की बिरुद्द संसदमा दर्ता भएको महाभियोग प्रस्तावबारे अनिर्णयको अवस्था जारी रहेपछि नेपाली कांग्रेसका केही मन्त्री र केन्द्रिय सदस्य राजिनामाकाे तयारीमा जुटेका छन् । महाभियाेगकाे विषयले कांग्रेसभित्र विवाद चुलिरहेका बेला केही मन्त्री र केन्द्रिय सदस्यकाे यस्ताे तयारीले पार्टीभित्र भुँइचालाे जान लागेकाे बुझिएकाे छ ।

नेपाली कांग्रेससहित ठूला तीन दलका शीर्ष नेताको सहमतिमा नै महाभियोग दर्ता गरिएपनि बिकसित पछिल्लो राजनीतिक घटनाक्रम अन्तर्गत लोकमान जोगाउन भारतले कांग्रेसमाथि दवाब बढाएको छ । पार्टीको केन्द्रिय समितिले महाभियोगमाथि छलफल गरेपनि ७४ केन्द्रिय सदस्यमध्ये मुस्किलले २५ जना महाभियोगको पक्षमा र बाँकी ४९ जना लोकमानको पक्षमा उभिएपछि नेपाली कांगेसमा संकट पैदा भएको हो ।

यसैको प्रतिफलस्वरूप सरकारमा संलग्न नेपाली कांग्रेसका केहि मन्त्रीहरु तथा पार्टीका केन्द्रिय सदस्यहरुले महाभियोगको पक्षमा देउवामाथि दवाब बढाउन आ-आफ्नो पदबाट राजिनामा दिनेसम्मको कठोर कदम चाल्ने तयारी गरेकाे स्राेतले बताएकाे छ । स्वास्थ्यमन्त्री गगन थापाले गत कात्तिक ७ गते संसदमा बोल्दै महाभियोगको पक्षमा उभिन अपिल गरेका थापा पार्टीको संसदीय दलभित्र महाभियोगको पक्षमा बहुमत पुग्ने बिश्वासमा छन् ।

यद्यपि कांग्रेसले लोकमानको पक्षमा उभिने निर्णय गरे मन्त्री र केन्द्रीय सदस्यबाट राजिनामा दिने तयारी थापाको छ । त्यस्तै पार्टीका अन्य केन्द्रीय सदस्यहरु धनराज गुरुङ, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, प्रदिप पौडेल, सुरेन्द्रराज पाण्डेसमेतले आफ्नो पदबाट राजिनामा दिने तयारी गरेको पार्टी सभापति देउवालाई जानकारी गराएका छन् ।

प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्